काठमाण्डौ । आइएमई र युनाइटेड नेसन क्यापिटल डेभलपमेन्ट फन्ड  (यूएनसीडीएफ) बीच अनुसन्धान समझदारी भएको छ। 

समझदारीअनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिट्यान्सको आप्रवाह बढाउन दुवै संस्थाहरुबीच सहकार्य हुनेछ। यो सम्झौता विशेषतः महिला रेमिटेन्स प्राप्तकर्ताहरुका समस्या र ती समस्याहरुको न्यूनीकरणमा बढ्ता केन्द्रित हुनेछ। 

डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत यो समझदारी उपयोगी हुनेछ। महिलाहरुको वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यसमेत यो समझदारीमा समेटिएको छ। यस समझदारीपछि नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास दुवै संस्थाले लिएका छन्। 

समझदारीपछि आयोजित एक विशेष कार्यक्रमलाई शुभकामना सन्देश पठाउँदै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईका सुरुआती दिनको स्मरण गर्दै आज रेमिटेन्स सेवा उद्यमका रुपमा विकसित भई नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनका माध्यम बन्नुका साथै राष्ट्रको अर्थतन्त्रको मुख्य स्रोत बनेको उल्लेख गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले आइएमई ग्रुपले सुरक्षित भुक्तानीका लागि पूर्वाधारहरु निर्माण गरिरहेको जानकारी दिँदै यूएनसीडीएफसँगको यो सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूर्ण परिवारहरुलाई रेमिटेन्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने विश्वास व्यक्त गरे। 

सन् २०२१ को सुरुआतदेखि आइएमई र यूएनसीडीएफले वैदेशिक रोजगारीमा गएका परिवारको हितका लागि सहकार्य गर्दै आइरहेका गरेका छन्। सर्वेक्षण एवं अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र विशेषतः रेमिटेन्स प्राप्तकर्ताहरुका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य यसपटकको समझदारीमा उल्लेख गरिएको छ। 

रेमिट्यान्स नेपालको अर्थतन्त्र र जनताका लागि जीवन रेखा हो। आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरु संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ। यसबाट ग्राहकहरुले अन्तर्राष्ट्रिय रेमिटेन्स ट्रान्सफरहरु सिधैं उनीहरुको मोबाइल वालेटमा प्राप्त गर्न सक्ने गरी अध्यावधिक गरिँदै आएको छ । कोभिड–१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ। 

रेमिटेन्स आप्रवासी परिवारहरु विशेषगरी महिलाहरुको वित्तीय समावेशीकरणमा सहयोगी हुने विश्वास दुवै संस्थाले लिएका छन्। तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले बहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन कि भन्ने सन्दर्भमा आइएमई र यूएनसीडीएफले डिजिटल वालेटमा महिलाहरुको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरु हटाउन सहकार्य गरेका हुन्। 

आइएमईले यूएनसीडीएफसँगको सहकार्यमा यही २० सेप्टेम्बरदेखि दुईदिवसीय डाटा एनालिटिक्स र मानव केन्द्रित उत्पादन विकास कार्यशाला राजधानी काठमाण्डौमा आयोजना गर्यो। आइएमईद्वारा आयोजित अध्यान र कार्यशाला यूएनसीडीएफसँगको सहकार्यमा सम्पन्न भएको थियो। 

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुरुयाउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ। 

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। 

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।