काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको छ। योसँगै आईएमई लाइफ नेपालको बीमा क्षेत्रमा पहिलोपटक प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनी भएको छ।
सेबोनले आज (जेठ २३ गते) आइएमई लाइफ इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। सेबोनले यो कम्पनीलाई चुक्तापुँजीको ३० प्रतिशतबराबरको आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ।
सेबोनको अनुमतिसँगै अब कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीले १०० अंकित दरमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले निवेदन दिँदा भने प्रतिकित्ता २७६ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। जसमा १७६ रुपैयाँ प्रिमियम जोडिएको थियो। सेबोनले प्रिमियम मूल्य घटाएर १३६.९१ रुपैयाँ कायम गरेको हो।
कुल कित्तामध्ये ६ लाख कित्ता सेयर कर्मचारीहरुका लागि अंकित मूल्य १०० रुपैयाँमै छुट्याएको छ। बाँकी १ करोड १४ लाख कित्तामा सर्वसाधारण (कर्मचारी र सामूहिक लगानी कोषसहित)ले आवेदन दिन पाउनेछन्।
यो आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ७६ करोड ७ लाख ६४ हजार रुपैयाँ जुटाउनेछ।
आइएमई लाइफको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु. २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले कम्पनीले रु. २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।
कम्पनीको चुक्तापुँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ। यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ।
यसैगरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी रु. ८.६९ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ रहेको छ।
नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीहरुमध्ये आइएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो।
दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित आइएमई लाइफ इन्स्योरेन्सले बीमित तथा सेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्ने लक्ष्य लिएको छ। आर्थिक विकासमा बीमा क्षेत्रबाट अर्थपूर्ण सहभागिता जनाउनु कम्पनीको उद्देश्य रहेको छ।
15 minutes ago
38 minutes ago
36 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago