काठमाण्डौ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मानबाट सम्मानित भएका छन्। 

काठमाण्डौको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई सीआईपी सम्मान प्रदान गरेका हुन्। बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको हो।

ढकाल यसअघि सन् २०१४ मा पनि सीआईपी सम्मानबाट सम्मानित भइसकेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ। 

केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वलाई उक्त सम्मान प्रदान गरेको छ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १९ औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २३६ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ।