काठमाण्डौ। आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। 

आन्तरिक राजस्व विभागद्वारा बिहीबार आयोजित एक समारोहबीच अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका थिए। 

विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो। विभागले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो। 

यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड १९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिक रुपमा हुन सकेको थिएन। 

यसअघि यस आइएमईलाई लगातार तीनपटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ। नवौँ राष्ट्रिय कर दिवसका अवसरमा आज आइएमईसहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरिएको छ। 

श्रमका लागि विदेशमा गएका युवाले आर्जन गर्ने रेमिट्यान्स बैंकिङ सञ्जालमार्फत नेपाल भित्र्याउने उद्देश्यले आजभन्दा २० वर्षअघि स्थापित आइएमईलाई नेपालको समग्र रेमिट्यान्स व्यवसाय संस्थागत गरेको श्रेय जान्छ। 

आइएमई विदेशबाट बैंकिङ च्यानलमार्फत नेपालमा विप्रेषण भित्र्याउने नेपालको पहिलो कम्पनी हो। नेपालको रेमिट्यान्स क्षेत्रको यो अगुवा संस्थाका कारण वैदेशिक रोजगारीमा गएका लाखौँ नेपालीलाई आफ्नो घरमा पैसा पठाउन सजिलो भएको छ। 

संसारका विभिन्न देशमा रहेको यो कम्पनीको यही सेवाका कारण धेरैजसो विदेशमा तथा स्वदेशमै रहेका नेपाली नागरिकमाझ पनि आइएमआई गर्ने भन्ने एउटा पर्याय नै भएको छ।   

आफ्नो स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २० औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सबएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ।