काठमाण्डौ । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेस्ट बैंकबीच सवारीसाधनका लागि कर्जा उपलब्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

सम्झौतापत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेस्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकको चाहनाअनुसार अशोक लेल्यान्डका सवारीसाधन किन्नका लागि बैंकले अधिकतम ७ वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने छ। 

कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने छ। नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर सो कर्जा उपलब्ध हुनेछ। 

नेपालको कमर्सियल सवारीसाधन बजारमा अशोक लेल्यान्डको बलियो उपस्थिति छ। देशभर शोरुम तथा सर्भिसिङ सहितका टच प्वाइन्ट विस्तार कार्यलाई कम्पनीले निरन्तरता दिइरहेको छ। 

विगत २ वर्षयता कम्पनीले आक्रामक रुपमा बजार विस्तार गरिरहेको छ र बजार हिस्सा समेत वृद्धि गर्दै गएको छ। हाल अशोक लेल्यान्ड, नेपालको दोस्रो ठूलो कमर्सियल भेइकल ब्रान्ड बनेको छ। 

हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ। जसले ग्राहकलाई सहज रुपमा स्वामित्वको अनुभूति प्रदान गर्ने विश्वास गरिएको छ।