काठमाण्डौ । बहुप्रतिक्षित हिमालयन–इन्भेष्टमेन्ट बैंकबीचको मर्जरमा खटपट सुरु भएको छ । 

मर्जरको सम्झौता गरी एकीकृत कारोबार अगाडि टुङ्याउनुपर्ने कामहरु पूरा गर्दै अगाडि बढेका यी दुई बैंकबीचको मर्जरमा दरार देखिन थालेको हो । 

पछिल्लो समय यी दुई बैंकका संचालक तथा उच्च व्यवस्थापनबीच टकरावको अवस्था सिर्जना भएको छ । मर्जरअघि नै यस्तो अवस्था आएपछि राष्ट्रबैंकको दवाबकै कारण यी दुई बैंक एक भए भने पनि आपसी विवाद र लफडामा फस्ने संभावना देखिएको छ । 

पछिल्लोपटक हिमालयन बैंकको संचालक समितिको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएसँगै यी दुई बैंकको मर्जर भाँडिने आँकलन भइरहेको छ । तर, यस्तो आँकलन आधारहीन रहेका दुवै बैंकका संचालकहरुले प्रष्ट पारेका छन् । ‘श्रेष्ठ अध्यक्ष हुनेबित्तिकै उहाँको तागतले यति अगाडि बढिसकेको मर्जर भाँडिने अवस्था हुन्न ।’ हिमालयन बैंकका एक संचालकले बिजशालासँग भने–‘किनभने अन्य संचालकहरुले यस्तो हुन दिंदैनन् । फेरि एमओयू, डिडिए भइसकेर राष्ट्रबैंककै अगाडि सम्झौता समेत भइसकेकोले दुईमध्ये कुनै पनि बैंक मर्जरबाट भाग्ने अवस्था रहन्न, सक्दैनन् ।’ 

हिमालयन बैंकको संचालक समितिको अध्यक्षको रुपमा पूर्व अध्यक्ष मनोजबहादुर श्रेष्ठका भाई आएपछि मर्जरका विरोधी श्रेष्ठ परिवारले लफडा गर्नसक्ने आँकलन भइरहेको देखिएको छ । तर, यस्ता आँकलनमा दम नरहेको, बरु बैंककै केही विषयमा देखिएको विवाद बेलैमा समाधान नभए मर्जरलाई पछाडि धकेल्ने वा भाँडिने अवस्थासम्म पुग्नसक्ने स्रोत दाबी गर्छ । 

पछिल्लो समय हिमालयन बैंकका संचालकहरु मर्जरअघिका कामहरु गर्दै गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकका संचालक र उच्च व्यवस्थापनका अधिकारीहरुले मर्जरको जस्तो नभई प्राप्तिको जस्तो व्यवहार गरेका आरोप लगाउँछन् । ‘इन्भेष्टमेन्ट बैंकका साथीहरुले हिमालयन बैंकका साथीहरुलाई प्राप्तिजस्तो गरी हेपाहा व्यवहार देखाइरहनुभएको छ ।’ एक संचालकले भने–‘यो अवस्था बढ्दै गयो भने मर्जर टुंगिएर एकीकृत कारोबार सुरु हुन गाह्रो पर्ने देखिन्छ।’ 

पछिल्लो समय यी दुई बैंकबीच मर्जरपछि कसले प्रयोग गरिरहेको आइटी प्ल्याटफर्ममा जाने भन्ने विषयमा समेत निकै ठूलो विवाद रहेको स्रोत बताउँछ । ‘तुलनात्मक रुपमा हिमालयन बैंकको आइटी राम्रो छ । राम्रो र स्तरीय भएको हिसाबले हिमालयनकै आइटी प्ल्याटफर्म इन्भेष्मटेन्टले स्वीकार गरोस् भन्ने हिमालयनका संचालकहरुको चाहना छ ।’ स्रोतले भन्यो–‘ तर इन्भेष्टमेन्ट बैंकका संचालक र उच्च व्यवस्थापनका अधिकारी राम्रो र गुणस्तरीय हुँदा हुँदै पनि हिमालयनको आइटीमा जान मानिरहेका छैनन्, सायद उनीहरु केही लुकाउन खोजिरहेका छन् ।’ 

यो विषयले भित्रभित्रै निकै ठूलो हंगामा भइसकेको स्रोत दाबी गर्छ । ‘यो निकै संवेदनशील विषय पनि हो ।’ स्रोतले भन्यो–‘इन्भेष्टमेन्ट बैंकले मर्जरको क्रममा नभनेको कुनै कुराको पोल खुल्छ भनेर यस्तो गरेको हो कि भन्ने आशंका जन्मिनु स्वभाविक देखिन्छ ।’ 

इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे, संचालक तथा संयुक्त मर्जर कमिटीका अधिकारीहरु हरेक विषयमा पेलेरै अगाडि बढ्न थालेपछि हिमालयन बैंकका सीइओ, संचालक र मर्जर कमिटीका सदस्य समेत अहिले रुष्ट बनेका छन् । ‘बैठकमा उहाँहरु आफ्नो ओपिनियन पनि राख्न सक्नुहुन्न । माथिको कुरा यस्तै आएको छ भन्दै हरेक विषय लाद्न खोज्नुहुन्छ ।’ हिमालयनका एक अधिकारीले भने–‘हाम्रोमा फरक संस्कार छ । माथिबाटै आएको प्रस्तावमा पनि राम्रोसँग डिबेट हुन्छ, अनि मात्र निक्र्यौलमा पुग्छौं ।’ 

इन्भेष्टमेन्ट बैंकको निर्णय प्रक्रिया र काम गर्ने शैलीप्रति सुरुवातदेखि नै हिमालयन बैंकले प्रश्न उठाउँदै आएको छ । मर्जरका लागि विभिन्न कामहरु भइरहँदा समेत त्यस्तै प्रवृति देखिएको भन्दै हिमालयनका संचालक अहिले मर्जर सम्झौता गरेकोमा पछुतो मानिरहेका भेटिए । ‘तर अहिले आएर पछुतो मान्नुको तुक छैन ।’ एक संचालकले भने–‘हामी मर्जरमा त जानैपर्छ, तर इन्भेष्टमेन्टवालाहरुको पेलाई चाहिँ सहिन्न । यो अक्वायर होइन, मर्जर हो, त्यो कुरा उनीहरुले बुझुन् ।’ 

यो खटपटको विषयमा इन्भेष्टमेन्ट बैंकका संचालक वा सीइओ खुलेर बोल्न मान्दैनन् । उनीहरुले पुससम्म एकीकृत कारोबार गर्ने मात्र भन्ने गरेका छन् । अन्य समस्याहरुको विषयमा खुलेर बोल्न चाहेनन् ।