काठमाण्डौ । कोभिड १९ को संक्रमण बढेर अवस्था भयावह बन्नसक्ने उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । 

कोभिड १९ संकट व्यवस्थापन केन्द्र, सम्बन्धित सबै सरोकारवाला निकाय, स्वास्थ्यविज्ञ, सुरक्षा निकाय लगायतसँगको परामर्शपछि आइतबार(कात्तिक २ गते)देखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको प्रशासकीय अधिकृत यज्ञराज जोशीले जानकारी दिएका छन् । 

उनका अनुसार पछिल्लो समय काठमाण्डौ उपत्यकामा कोभिड १९ को संक्रमणदर अत्यधिक बढिरहेको, जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत कर्मचारीमा पनि कोरोना पुष्टि भइसकेको, कार्यालयमा अत्यधिक भीडभाड बढेको र कार्यालयबाटै सेवाग्राहीमा संक्रमण फैलिनसक्ने उच्च जोखिम रहेका कारण अवस्था भयावह हुन नदिन यस्तो निर्णय गरिएको जोशीले बताए । 

उनका अनुसार शान्तिसुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्धाको सुनुवाई सम्बन्धी सेवा र विपद व्यवस्थापन सम्बन्धी सेवा बाहेक अन्य सेवा बन्द हुनेछन् ।