काठमाण्डौ । तीव्र गतिमा विस्तार हुँदै गएको ऐरावत गु्रप उड्डयन, हस्पिटालिटी, रिटेल, हेल्थ केयर र सडक सुरक्षा लगायत क्षेत्रमा कार्यरत दक्ष भारतीय समूह हो ।

यी क्षेत्रमा ऐरावतले परामर्श तथा लेखा परिक्षण (कन्सल्टिङ एण्ड अडिटिङ), प्रशिक्षण, ब्यापार तथा उत्पादन सेवा उपलब्ध गराउँदै आइरहेको छ । 

ईन्ष्टिच्यूट फर एक्सिलेन्सी ईन सर्भिसेज एण्ड प्लानिङ प्रालि (आईईएसपी) ऐरावत गु्रप अन्तर्गतको शैक्षिक विभाग हो । सन् २०१७ अप्रिल सम्ममा नेपालमा समेत गरी समूहले ८ प्रशिक्षण संस्था स्थापना गरिसकेको छ । आईईएसपीले आजको मिति सम्म आई पुग्दा वैश्विक बजारका ३५ हजार भन्दा बढीलाई विमानस्थल, एयरलाइन्स, ग्राउण्ड ह्याण्डलिङ एजेन्सिज, हस्पिटल, होटल, रिटेलर्स लगायत क्षेत्रमा प्रशिक्षण प्रदान गरिसकेको छ । प्रशिक्षणका साथै १० हजार भन्दा बढी प्रशिक्षार्थीलाई विभिन्न सेवा क्षेत्रमा कामको अवसर समेत प्रदान गरिसकेको कम्पनीले जनाएको छ । 

विगत ६ बर्ष भन्दा लामो समयदेखि आईईएसपी नेपाल एयरलाइनसँग सम्बद्ध छ । आईईएसपीले नेपाल एयरलाइनका सञ्चालक, ब्यवस्थापकदेखि निर्देशक लगायत कर्मचारीलाई प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको छ । 

ऐरावत गु्रप अन्तर्गतकै ऐरावत एभिएसन प्रालि(एएपीएल)ले ग्लोबल टेन्डर मार्फत नेपाल एयरलाइनलाई परामर्श प्रदान गर्दै प्रतिस्ठित आईएटीए आईएसएजीओ प्रमाणिकरण हात पारेको हो । यसलाई कम्पनीले नेपाल एयरलाईन्सले सन् २०१७मा हात पारेको सफलताका रुपमा ब्याख्या गरेको छ । 

स्थानीय वातावरण चिन्ने तथा सशक्त तालिम प्रदान गर्ने कार्यमा ऐरावत गु्रपको लामो अनुभव मार्फत एसओएस गु्रप नेपाल सँग सहकार्य गर्दै आईईएसपी नेपालले आउने ५ बर्ष भित्र देशका कर्णधारका रुपमा परिचित १० हजार नेपाली यूवाहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गर्नुका साथै तालिम सम्बद्ध क्षेत्रमा रोजगार बनाउने उद्देश्य लिएको छ । यसले देशको आर्थिक अवस्थामा समेत उल्लेख्य योगदान पुर्याउने कम्पनीको विश्वास छ ।

आउने १८ महिना भित्र आईईएसपीले दुबइ, श्रीलङ्का, साउदी अरेबिया र फिलिपिन्समा समेत आफ्नो प्रशिक्षण केन्द्र स्थापना गर्ने जानकारी दिएको छ । दुबइमा केन्द्र स्थापना गरिने हुँदा विद्यार्थीहरुलाई मध्य पूर्वी क्षेत्रमा समेत राम्रो अवसर प्रदान गर्न सकिने कम्पनीले आशा ब्यक्त गरेको छ ।