काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आर्थिक संकटको सामना गरिरहेको श्रीलंकालाई ३ अर्ब डलरको बेलआउट कोषका लागि हरियो झन्डा देखाएको छ। तर, आर्थिक संकटमा फसेको पाकिस्तान अझै पनि आईएमएफबाट सहयोगको खोजीमा छ। 

आईएमएफका सबै सर्त स्वीकार गरे पनि पाकिस्तानले अहिलेसम्म बेलआउट कोष पाउन सकेको छैन। आईएमएफ र पाकिस्तान सरकारबीच लामो समयदेखि वार्ता चलिरहेको छ तर अहिलेसम्म टुंगो लागेको छैन। 

आईएमएफले कसरी दिन्छ सदस्य राष्ट्रलाई ऋण ?

आईएमएफ विश्वव्यापी मौद्रिक सहयोग प्रवर्द्धन, वित्तीय स्थायित्व सुरक्षित गर्न, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण, उच्च रोजगारी र दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्न र विश्वभर गरिबी न्यूनीकरण गर्न स्थापना भएको १९० राष्ट्रहरुको संस्था हो। आईएमएफले सदस्य राष्ट्रहरुलाई आर्थिक सहायता प्रदान गर्दछ र जिम्मेवार खर्च सुनिश्चित गर्न सरकारसँग काम गर्दछ। 

आईएमएफले धेरै प्रकारको ऋण दिन्छ। ती विभिन्न राष्ट्रको आवश्यकता र परिस्थितिअनुरुप हुन्छन्। आईएमएफले न्यून आय भएका राष्ट्रलाई पनि शून्य ब्याजदरमा ऋण दिन्छ।

कति सम्पत्ति र कति दिन सक्छ ऋण ? 

आईएमएफसँग हाल ९७७ अर्ब स्पेसल ड्रइङ राइट्स (एसडीआर)को कुल सम्पत्ति छ। यसबाट सदस्य राष्ट्रलाई ७१३ अर्ब डलर ऋण दिन सक्छ। एसडीआर एक रिजर्भ सम्पत्ति हो। 

एसडीआरको भ्याल्यू ५ राष्ट्रको करेन्सीको बकेटमा आधारित हुन्छ। यसमा अमेरिकी डलर, युरो, चाइनिज रेन्मिन्बी, जापानी येन र ब्रिटिस पाउन्ड स्टर्लिङ पर्छन्। आईएमएफलाई रकम तीनवटा स्रोत सदस्य कोटा, बहुपक्षीय र द्विपक्षीय ऋण सम्झौताबाट आउँछ।

सदस्य कोटाहरु आईएमएफ फन्डिङको प्राथमिक स्रोत हुन्। सदस्य राष्ट्रको कोटाले विश्व अर्थतन्त्रमा यसको आकार र स्थिति प्रतिविम्बित गर्दछ। आईएमएफले नियमित रुपमा कोटाको समीक्षा गर्दछ।

आईएमएफबाट ऋण पाउन सदस्य राष्ट्रहरुले गर्नुपर्छ यी काम 

  • सर्वप्रथम आर्थिक सहायताको आवश्यकता परेको सदस्य राष्ट्रले आईएमएफलाई अनुरोध गर्दछ।
  • त्यसपछि राष्ट्रको सरकार र आईएमएफ कर्मचारीले आर्थिक र वित्तीय अवस्था तथा वित्तीय आवश्यकताहरुबारे छलफल गर्छन्।
  • सामान्यतया आईएमएफले ऋण दिनुअघि राष्ट्रको सरकार र आईएमएफको आर्थिक नीतिहरुको एक कार्यक्रममा सहमत हुन्छन्। 
  • सर्तहरुमा सहमति भएपछि एउटा व्यवस्थाअन्तर्गत नीति कार्यक्रमलाई आईएमएफको कार्यकारी बोर्डको एमओयूका लागि पेस गरिन्छ र सम्झौताबारे विस्तृत रुपमा जानकारी गराइन्छ। आईएमएफका कर्मचारीहरुले राष्ट्रको नीति अभिप्रायलाई समर्थन गर्न र वित्तपोषण प्रस्ताव गर्न कार्यकारी बोर्डलाई सिफारिस गर्दछ। आईएमएफको आपतकालीन वित्तीय संयन्त्रअन्तर्गत यो प्रक्रियालाई गति दिन सकिन्छ।
  • बोर्डले ऋण स्वीकृत गरेपछि आईएमएफले सदस्य राष्ट्रहरुले नीतिहरु कसरी लागू गर्छन् भनेर निगरानी गर्दछ। कुनै पनि राष्ट्रको आर्थिक र वित्तीय रिकभरीले सुनिश्चित गर्नुपर्छ कि आईएमएफको फन्डहरु पुनर्भुक्तानी गरिनुपर्छ। ता कि अन्य राष्ट्रहरुमा हस्तान्तरण गर्न सकियोस्। 

आईएमएफको वेबसाइटका अनुसार ऋण वितरण प्रक्रिया निकै लचिलो छ। राम्रो नीतिहरुप्रति प्रतिबद्धता कायम राख्ने राष्ट्रहरु बिना वा सीमित सर्तमा ऋण लिन सक्षम हुन सक्छन्।

आईएमएफ र विश्व बैंकबीचको भिन्नता

विश्व बैंकले नीति सुधार कार्यक्रम र आयोजनाका लागि ऋण दिन्छ भने आईएमएफले नीति सुधार कार्यक्रमका लागिमात्र ऋण दिन्छ। विश्व बैंकले विकासोन्मुख राष्ट्रलाई मात्र ऋण दिन्छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषका स्रोतहरु गरिब राष्ट्र र धनी राष्ट्रले पनि प्रयोग गर्न सक्छन् भन्नेमा पनि यी दुई संस्थाबीच भिन्नता रहेको छ। –एजेन्सी