काठमाण्डौ। नेपाल–चीन संयुक्त लगानी निजी क्षेत्रको हवाई कम्पनी– हिमालय एअरलाइन्स नेपालमै सर्वप्रथम आईएसओ ९००१ः२०१५; गुणस्तरीय व्यवस्थापन प्रणालीबाट प्रमाणीकरण हुन सफल भएको छ।

एअरलाइन्सलाई सोको स्तरीय व्यवस्थापन प्रणाली, जुन आईएसओ ९००१ः२०१५ का मापदण्डअनुरुप व्यवस्थित भएकै कारण आईएसओ ९००१ः२०१५ बाट प्रमाणीकरण गर्दै गत डिसेम्बर २९ मै सम्मानित गरिएको थियो।

एअरलाइन्सले हवाई यात्रा गर्ने यात्रुहरु तथा हवाई परिवहनसम्बन्धी स्तरीय सेवा र उड्डयन क्षेत्रसँग सम्बन्धित विविध तालिमलगायतका गुणस्तरीय सेवा प्रणाली ब्यवस्था गरेबापत उक्त प्रमाणीकरण प्राप्त गरेको हो।

स्मरणीय छ, हिमालय एअरलाइन्सले यसपूर्व अर्थात् अगस्त २०२० मै हवाई जहाज मर्मत–सम्भार तथा उड्डयनसम्बन्धी इन्जिनियरिङ सेवाबापत आईएसओबाट प्रमाणीकरण भइसकेको थियो। 

आईएसओ ९००१ः२०१५ विश्वव्यापी रुपमै मान्यता प्राप्त स्तरीय व्यवस्थापन प्रणाली अर्थात व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)द्वारा प्रतिपादित र प्रकाशित एक प्रभावशाली मानक हो। जसबाट प्रमाणित संस्थाले प्रदान गर्ने वस्तु वा सेवाले स्तरीय व्यवस्थापनका माध्यमबाट आफ्ना ग्राहकको आवश्यकता सन्तोषजनकरुपमा परिपूर्ति गर्ने गर्दछन्।

आईएसओ ९००१ः२०१५ प्रमाणपत्र नं 120057/A/0001/UK/En संयुक्त अधिराज्य स्थित ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम्स’ र ‘युनाइटेड किङ्गडम एक्रिडिटेसन सर्भिस (UKAS) द्वारा हिमालय एअरलाइन्सलाई प्रदान गरिएको थियो। व्यवस्थापन प्रक्रियाका सूक्ष्म आयाम तथा मापदण्डहरु पूरा गर्दै हिमालयले सफलतापूर्वक परिक्षणका सबै प्रक्रियाहरु पूरा गरेको र कम्पनीको समग्र व्यवस्थापन प्रणाली वैधानिक एवं नियामकतासम्बन्धी महत्वपूर्ण सबै मापदण्ड अनुरुप भएका प्रमाणित गर्दै एअरलाइन्सले यो प्रमाणीकरण प्राप्त गरेको हो।

आफ्नो व्यवस्थापकीय समूहलाई बधाइ ज्ञापन गर्दै हिमालय एअरलाइन्सका अध्यक्ष झो एन्योङले हिमालयका लागि आईएसओ ९००१ः२०१५ प्रमाणीकरण प्राप्त गर्नु अत्यन्तै गर्वको अवसर हुनुका साथै सबैको सामूहिक प्रयासको उत्कृष्ट प्रतिफल भएको बताए। आफ्ना कम्पनीका लागि यो एक निरन्तर प्रक्रिया रहेको र आगामी दिनमा पनि व्यवस्थापनलाई अझै परिस्कृत पार्ने, सेवाका स्तरहरु उकास्ने र आवश्यक सबै नीति–नियमहरुको उचित अनुपालन गर्दै स्तरीय व्यवस्थापनमा अझै जोडका साथ लागिपर्ने प्रतिबद्धत्तासमेत उनले दोहोर्याए। 

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय व्यवस्थापन टोलीका लागि यो वास्तवमै एक उल्लेखनीय उपलब्धि भएको बताए। कम्पनीका सबै तहमा उच्चस्तरकोे कार्य प्रणाली अपनाउँदै तिनलाई कायम राख्दै सम्बद्ध सबैको संयुक्त योगदान र प्रयासबाट हिमालयले  आईएसओ प्रमाणपत्र प्राप्त गर्न सफल रहेको उनले बताए। यसले हिमालयको उच्चस्तरको कार्य क्षमता तथा कार्य प्रणालीको प्रदर्शन गर्दै स्तरीय व्यवस्थापनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेकोसमेत उनको भनाइ थियो।