काठमाण्डौ। चिनियाँ राइड हेलिङ कम्पनी ‘दिदी’ ले अमेरिकी सेयर बजारबाट बाहिरिने जनाएको छ। 

दिदीले न्युयोर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङ भएर हङकङमा सूचीकृत हुने योजना बनाएको हो। 

न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको ६ महिनाभन्दा कम समयमै कम्पनीले यस्तो निर्णय लिएको हो। ‘गम्भीर र सूक्ष्म अध्ययनपश्चात कम्पनी न्युयोर्क स्टक एक्सचेन्जबाट तत्कालै डिलिस्टिङ हुनेछ र हङकङमा सूचीकृत हुने तयारी गर्नेछ’, कम्पनीले आफ्नो आधिकारिक अकाउन्ट विईबोमा लेखेको छ। विईबो चीनमा प्रचलित ट्विटरजस्तै एप हो। 

यस्तै न्युयोर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङ हुन र अन्य कुनै स्टक एक्सचेन्जमा कम्पनीको सेयर निर्वाध रुपमा कारोबारमा ल्याउनका लागि कम्पनीको सञ्चालक समितिले अनुमति दिइसकेको कम्पनीले जनाएको छ। 

डिलिस्टिङ भएपश्चात हङकङमा सूचीकृत हुनका लागिसमेत सञ्चालक समितिबाट अनुमति प्राप्त भइसकेको कम्पनीले जनाएको छ। 

दिदीले गत जुन ३० मा अमेरिकी सेयर बजारमा ४.४ बिलियन ओरिकी डलरबराबरको आईपीओ जारी गरेका थियो। आईपीओ जारी भएदेखि कम्पनीको सेयरमूल्य ४४ प्रतिशतले ओरालो लागेको छ। बिहीबार कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७.८० अमेरिकी डलरका साथ बन्द भएको थियो। 

कम्पनीका कार्यकारीहरुलाई चिनियाँ नियामकहरुले अमेरिकी सेयर बजारबाट बाहिरिने योजना बनाउन दिएको समाचार सार्वजनिक भएपछि गत साता कम्पनीको सेयरमूल्यमा तीव्र गिरावट आएको थियो। संवेदनशील डेटाहरु चुहिने खतरा रहेको भन्दै चिनियाँ नियामकहरुले  दिदीलाई अमेरिकी सेयर बजारबाट डिलिस्टिङ गर्न खोजेको जनाइएको छ। 

दिदीको डिलिस्टिङले सफ्ट बैंक र उबेरको ठूलो लगानीलाई जोखिममा पारेको फ्याक्टसेटले जनाएको छ। फ्याक्टसेटका अनुसार दिदीमा सफ्ट बैंक र उबेरको ३० प्रतिशतभन्दा बढी संयुक्त स्वामित्व रहेको छ। 

देशभन्दा बाहिर आईपीओ जारी गरेका कारण चिनियाँ नियामकहरुले दिदीलाई निसाना बनाएको जनाइएको छ। कम्पनीले अमेरिकी सेयर बजारमा आईपीओ जारी गरेसँगै ठूला टेक कम्पनीहरुलाई बाँधेर राख्ने चीनको प्रयासमा धक्का लागेको थियो। आईपीओ जारी भएको केही सातापश्चात चिनियाँ अधिकारीहरुले १० लाख प्रयोकर्ताहरुभन्दा बढीको डेटा भएका कम्पनीहरुले विदेशमा आईपीओ जारी गर्नुपूर्व अनुमति लिनुपर्ने व्यवस्थाको प्रस्ताव गरेका थिए। 

चीनले गत वर्ष दिग्गज टेक कम्पनी आन्ट गुप्रको आईपीओलाई रोकेको थियो।