– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सरकारले अहिले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ। 

आईपीओमा आरक्षणको व्यवस्था भएपछि वैदेशिक रोजगारमा रहेका नेपालीहरुले सेयर भर्न रुचि राखेको पाइन्छ। तर, रेमिट्यान्स बचत खातामार्फत आईपीओ भर्न बैंकबाट छुट्टै सीआरएन नम्बर पनि लिनुपर्ने सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पूर्णप्रसाद आचार्यले जानकारी दिए। ‘आरक्षणको व्यवस्थाअघि रेमिट्यान्स खाताबाटै आईपीओ भर्दै आएकाहरुले पनि अब फेरि नयाँ सीआरएन नम्बर लिनुपर्छ, पहिलेको सीआरएन नम्बरले आईपीओ भर्न पाइँदैन’, उनले स्पष्ट पार्दै भने। 

रेमिट्यान्स बचत खाताको नयाँ सीआरएन नम्बर लिन चाहने खाताधारकलाई सम्बन्धित बैंकहरुले नै अनलाइनमार्फत आवश्यक कागजपत्र लिएर सहज ढंगले उपलब्ध गराउनुपर्ने आचार्यको भनाइ छ। 

‘वैदेशिक रोजगारमा रहेकाहरुले आरक्षण सेयरमा पुरानो सीआरएन नम्बरबाट आईपीओ भर्न मिल्दैन’, आचार्यले भने, ‘त्यसैले अब श्रम स्वीकृतिको कागजपत्र तथा न्यूनतम ५० हजार रुपैयाँ वैध ढंगबाट पठाएको ब्यालेन्ससिटलगायत डकुमेन्ट पेस गरेर रेमिट्यान्स बचत खाताको नयाँ सीआरएन नम्बर लिनुपर्छ।’