काठमाण्डौ । आईपीओ निष्कासनका लागि यतिबेला ८ जलविद्युतसहित १० वटा कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन) को अनुमति पर्खाइमा छन्।

सेबोनमा सहास ऊर्जा, सामलिङ पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, विन्ध्यावासिनी हाइड्रोपवार, माइलुङ खोला जलविद्युत, मध्यभोटेकोशी जलविद्युत, ङादी हाइड्रोपवार र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट तथा डिस मिडिया नेटवर्क लिमिटेडका आईपीओहरु पाइपलाइनमा रहेका हुन्। यी कम्पनीहरुले कुल ४ करोड २३ लाख ७० हजार ४४५ कित्ता आईपीओ निष्कासनको अनुमति मागेका छन्। जुन कुल ४ अर्ब २३ करोड ७० लाख ४४ हजार ५०० रुपैयाँबराबरको हुन आउँछ। 

सहास ऊर्जा स्थानीय र सर्वसाधारणका लागि गरी कुल १ करोड ५ लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। आईपीओ बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ। 

आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी सामलिङ हाइड्रोपावरले १२ लाख ३० हजार कित्ता र बुद्धभूमि नेपाल हाइड्रोपावरले १२ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन्। सामलिङले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र बुद्धभूमि नेपालले सिभिल क्यापिटल मार्केटलाई धितोपत्र बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ।

यसैगरी हिमालयन र विन्ध्यावासिनी हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि क्रमशः २२ लाख ५० हजार कित्ता र २५ लाख कित्ता आईपीओ निष्कासनको तयारी गरिरहेका छन्। आईपीओ बिक्री प्रबन्धकमा हिमालयनको ग्लोबल आईएमई क्यापिटल र विन्ध्यावासिनीको सानिमा क्यापिटल रहेका छन्। 

माइलुङ खोला जलविद्युतले भने सर्वसाधारणका लागि कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ। यो आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

मध्यभोटेकोशी र ङादी हाइड्रोपारले पनि स्थानीय र सर्वसाधारणका लागि क्रमशः १ करोड ५० लाख कित्ता र ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको तयारी गरेका छन्। यी दुवै आईपीओ बोर्डको पाइपलाइनमा छन्। यी दुवै आईपीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ। 

अन्य समूहमा रहेका सीईडीबी हाइड्रोपावर र डिस मिडिया नेटवर्कले पनि क्रमशः २५ लाख १८ हजार २३० कित्ता र २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न अनुमतिको पर्खाइमा छन्। धितोपत्र बिक्री प्रबन्धकमा सीईडीबीको  सनराइज क्यापिटल र डिस मिडियाको ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेका छन्।