काठमाण्डौ । सीडीएससीको निजी अनलाइन मिडियामाथि नियन्त्रणको प्रयासले आज शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओको नतिजा हेर्नबाट आमलगानीकर्ता वञ्चित भएका छन्। यसका साथै ‘मेरो सेयर’ पोर्टल नचल्दा सेयर बिक्री गरेका लगानीकर्ताहरु सेयर हस्तान्तरण (ईडीआईएस) असमर्थन भएकाले क्लोजआउटमा पर्ने भएका छन्। 

गोपनीयता भंग हुने भन्दै सीडीएससीले अनलाइन मिडियाहरुमा आईपीओको रिजल्ट सार्वजनिक गर्न नदिने निर्णय गरेको थियो। उसले अबदेखि आईपीओको रिजल्ट सीडीएससी, सम्बन्धित धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक र सम्बन्धित आईपीओ निष्कासन गर्ने कम्पनीहरुकै वेबसाइटमा सार्वजनिक हुने भन्दै अनलाइन मिडियाहरुलाई आईपीओ रिजल्ट प्रकाशन गर्न नदिने निर्णय गरेको छ। 

सीडीएससीको यही अहमपूर्ण निर्णयले आज लाखौँ लगानीकर्ता महिला लघुवित्तको आईपीओ रिजल्ट हेर्नबाट वञ्चित भएका छन्। यी तिनै निकायको वेबसाइट खुल्दै नखुल्ने हुनाले रिजल्ट हेर्न आमलगानीकर्ताहरुलाई टाउको दुखाइको विषय बनेको छ। ‘यसअघि अनलाइनहरुमा आईपीओ रिजल्ट हेर्न निकै सहज भएको थियो’, काठमाण्डौ अनामनगरका प्रकाश तिवारीले भने, ‘आज घन्टौँ भइसक्यो आईपीओ पर्यो कि परेन हेर्न सकिएको छैन।’

मिडियामाथि नियन्त्रणको प्रयासले आमलगानी प्रताडित भएको प्रकाशको ठहर छ। ‘यो गर्न नहुने काम सीडीएससीले गर्यो, उसले आईपीओ रिजल्ट हेर्न सहज माध्यममाथि लगाम लगायो’, उनले भने।

उता नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका चिफ फाइनान्ससियल अफिसर श्रीकृष्ण सिग्देलले आईपीओ रिजल्ट हेर्न एकैपटक ठूलो संख्याले वेबसाइट खोल्दा समस्या आएको बताए। ‘यो प्राविधिक समस्या हो’, उनले भने, ‘हामी समस्या समाधानको कोसिस गरिरहेका छौँ।’

अनलाइन मिडियालाई आईपीओ रिजल्ट सार्वजनिक गर्न नदिने निर्णय गरेको सीडीएससीका उच्च अधिकारीहरुले पटकपटक मोबाइलमा सम्पर्क गर्दा उठाएनन्। यसले सीडीएससीका अधिकारीहरु सूचना दिन नचाहएको प्रस्ट हुन्छ। 

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको काठमाण्डौको हात्तीसारस्थित कार्यालयमा आज बिहान ८ बजे महिला लघुवित्तको आईपीओ बाँडफाँड भएको थियो। गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले सेयर हात पारेका छन्। 

महिला लघुवित्तले गत माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको सकिएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा कुल १५ लाख ४० हजार ३५ आवेदकबाट २ करोड ३७ लाख ४७ हजार ५९० कित्ता माग भएको थियो। जसमध्ये १५ लाख ३६ हजार ६८२ आवेदकबाट २ करोड ३६ लाख ९२ हजार ६३० कित्ता मागमात्रै सदर भएको थियो। बाँकी ३ हजार ३५३ आवेदकबाट ५४ हजार ९६० कित्ता भएको माग भने बदर भएको थियो। 

यो हिसाबले १४ लाख ९८ हजार ८८२ आवेदकको हात खाली भएको छ।