-अर्जुन तिमिल्सिना
काठमाण्डौ । नेप्सेका १३ वटा उपसमूहमध्ये लघुबित्त पनि एक हो । सेयरबजारका लगानीकर्ताहरुमा लघुबित्त वित्तीय संस्थाको सेयरप्रतिको आकर्षण अचाक्ली रहँदै आएको छ । यसको मुख्य कारण कम्पनीले आर्जन गर्ने उच्च नाफा र बजारले बनाएको उच्च सेयरमूल्य नै हो । 

हाल केही लघुबित्त कम्पनीको सेयरमूल्य ५ हजार भन्दा पनि माथि रहेको छ । लघुवित्त कम्पनीहरुको माझमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो अलग्गै पहिचान स्थापित गरिसकेको छ । दोश्रो बजारमा यो कम्पनीको उच्च सेयरमूल्य कायम छ र वार्षिक रुपमा निकै आकर्षक लाभांश वितरण गर्दै आएको यो कम्पनीप्रतिको आकर्षण समेत उस्तै गरी बढिरहेको देखिन्छ । हामीले आज लगानीकर्ताको आकर्षण रहेको यही कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई केलाउने कोशिश गरेका छौं । 

फरवार्ड माइक्रोफाइनान्स लघुबित्त बित्तिय सँस्था राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको माइक्रो फाइनान्स हो । यो माइक्रो फाइनान्स गैरसरकारी संस्थाबाट लघुवित्तमा परिणत भएर सन् २०१३ मा बंगलादेशी मोडेलमा स्थापना भएको हो । एभरेष्ट बैकको नेटवर्किङ पार्टनरमा यो संस्थाको देशभरि १ सय ४२ शाखा रहेका छन् । यो संस्थाले कम आय भएकाहरुलाई ऋण प्रवाह गर्नुको साथै निक्षेप संकलन, माइक्रोइन्स्योरेन्स तथा रेमिट्यान्सको सेवा पनि दिन्छ । संस्थाले ३ अर्ब ६१ करोड ६७ लाख निक्षेप संकलन गरेको छ भने सापटी समेत लिएर ८ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ । 

चौथो त्रैमासको वित्तीय विवरणअनुसार ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ चुक्तापुँजी रहेको यो संस्थाको हालको प्रतिसेयर आम्दानी ९१.८७  रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २८६३ रुपैयाँ र प्राइस अर्निङ रेसियो ३०.१५ गुणा रहेको छ। जगेडा कोषमा १ अर्ब २६ करोड रुपैयाँ छ । खराब कर्जा ३.६७ रहेको यो सँस्थाको ४ वर्षको औसत लाभांश दर ४६.५ प्रतिशत रहेको छ। बैकको खुद नाफा ५७ करोड ४६ लाख रुपैयाँ रहेको छ।

प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यसले लाखौं लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयरबजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो सस्थाले बनाएकोे इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल माइनर डिग्रीको वेभ ४ चलेको देखिन्छ, जसले करेक्सन बनाएको छ । जसअन्तर्गत वेभ ४ मा २७ सय बिन्दुसम्म आउनसक्छ भने जसलाई फिवोनासीमा जोडेर हेर्दा १.६१ प्रतिशतको वृद्धिमा सेयरभाउ ३६ सय रुपैयाँसम्म पुग्नसक्छ । 
(मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउनसक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो सँस्थाको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ३०३९ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा २८७२ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा २७४० रुपैयाँ तथा ०.६१ प्रतिशतको टेवा २६०३  रुपैयाँसम्म हुनसक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही समय पहिले एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)।  हिस्टोग्राम नेगेटिभ भएका छन् तर छोटा छोटा हुँदै गएकोले केही समयमा बुलिस हुनसक्ने बुझिन्छ।

बोलिङ्गर ब्यान्डका आधारमा 
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्डलाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ, तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्य रेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो  मारुबुजु क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा बिक्री चाप आएको बुझिन्छ। अन्तिम कारोबारले रातो लामो मारुबुजु बनाएकोले केही समय बिक्रीको चाप पर्नसक्ने सम्भावना देखिन्छ, तर मूल्यरेखाले तल्लो ब्याण्डलाई छोएको र ब्याण्ड केही खुम्चिँदै गएकोले मूल्यमा बढोत्तरी आउनसक्ने देखिन्छ ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो लघुबित्तको हालको आरएसआई ३७.७  रहेको छ। यसले ओभर सोल्डजोनमा रहेको बुझिन्छ । अघिल्लोपटक यो न्यून विन्दु २४ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्च विन्दु ७६.२ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्य केही कारोबारमा बुलिस सिग्नल देखिनसक्छ ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाब निकालिन्छ।

बढेमा प्रतिरोध 
प्रतिरोध १– ३१७७
प्रतिरोध २– ३४९४
प्रतिरोध ३– ३६७८
पिभट प्वइन्ट: २९९३

घटेमा सपोर्ट
सपोर्ट १– २६७६
सपोर्ट २– २४९२
सपोर्ट ३– २१७५

(नोट: सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण मात्र हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामी पनि स्वस्थ आलोचनाको स्वागत गर्छौ । लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो विश्लेषण कारोबारको सिफारिस भने होइन।)