काठमाण्डौ । बाँचुन्जेल अनेक देख्न र सुन्न पाइन्छ भन्ने पछिल्लो उदाहरण बनेको छ कजाकस्तानको कलाची गाउँ। 

कलाची एउटा सानो गाउँ हो। तर यहाँ मानिस विगतमा केही वर्ष भयानक रहस्मय समस्या भोग्न बाध्य भए। गाउँका झन्डै १५० भन्दा बढी मानिस हप्तौँसम्म मस्त निद्रामा पर्थे। यसरी सयौँ मानिसहरु हप्तौँसम्म मस्त निद्रामा पर्न थालेपछि गाउँका अन्य मानिसको निद हराम भएको थियो। यो रहस्यम निद्राले गाउँवासीलाई निकै समस्या सिर्जना भएको थियो।

यो गाउँमा धेरैजसो जर्मन र रुसी मानिसको बसोबास छ। स्थानीय एउटा पत्रिकाका अनुसार गाउँका मानिसहरु अचानक मस्त निद्रामा पर्थे। कतिपय त हिँड्दाहिँडै सुत्थे। जब शरीरमा कमजोरी, टाउको दुःखाइ हुन्थ्यो तब उनीहरु उठ्ने तर उनीहरु आफू मस्त निद्रामा परेको बिर्सिन्थे। कतिपयले त निद्रामै लामो दूरीसम्म हिँड्ने । जब उनीहरुलाई अन्यले झक्झाउँथे तब उनीहरु आफूहरुलाई केही पनि थाहा नभएको बताउँथे।

गाउँमा यो समस्या वयस्तलाई मात्र थिएन, बालबालिकामा पनि यस्तै समस्या थियो। कतिपय बालबालिका त आफ्नो खाटमा सर्प र उड्ने घोडासमेत देखेको भन्दै आत्तिन्थे। 

त्यसपछि यस्ता रहस्यमय घटना हुन थालेपछि थुप्रै अनुमानहरु लगाउन थालियो। कतिपयले सोभियत संघको पालामा गाउँनजिकै युरेनियमको खानी रहेको र त्यसैको प्रभावले यस्ता घटनाहरु भइरहेको आँकलन गरे। कतिपयले भने शत्रुहरुले गाउँको पानीमा केमिकल मिलाएर गाउँका मानिसहरुलाई दिग्भ्रमित पारेकोसम्म भन्न भ्याए। 

यस्ता घटना कजाकस्तान सरकारका लागि पनि निकै टाउको दुःखाइको विषय बन्यो। सरकारले अनुसन्धान थाल्यो। अनि सन् २०१५ मा एउटा प्रतिवेदन सार्वजनिक गर्यो। प्रतिवेदनमा कलाची क्षेत्रमा रहेको एउटा खानीबाट कार्बन मोनोअक्साइड ग्यास निकै बढेको र सोही कारणले गाउँमा यस्ता रहस्मय घटना भइरहेको तथ्य सार्वजनिक गरियो।

सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जब गाउँआसपासका क्षेत्रमा परीक्षण गरियो तब कार्बन मोनोअक्साइडको मात्रा सामान्यभन्दा १० गुणा रहेको पाइयो। त्यसपछि सरकारले त्यहाँबाट थुप्रै परिवारलाई स्थानान्तरण गरेको थियो। 

हाल उक्त गाउँमा कार्बन मोनोअक्साइड ग्यासको मात्रा सामान्य बनेको छ । अहिले त्यहाँ १२० परिवार बसोबास गर्छन्। उनीहरु सबैको जीवनयापन सामान्य नै रहेको छ।– एजेन्सी