काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव माग गरेको छ। 

सेबोनले एक सूचना प्रकाशित गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजारसम्बन्धी आगामी आर्थिक वर्षका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो। हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग समेत सल्लाह लिई तर्जुमा गर्दैमा सोही कार्यलाई सेबोनले निरन्तरता दिएको हो। 

धितोपत्र बजार विकास, विस्तार र नियमनको प्रभावरी व्यवस्थाका लागि सेबोनको नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको सेबोनले जनाएको छ। 

हाल सेबोनले नीति तथा कार्यक्रमको मस्यौदा तयार गरिरहेको छ। त्यसैले सरोकारवाला निकायले यही असार २० गतेभित्र धितोपत्र बजार विकास र विस्तारका लागि आफ्ना रचनात्मक राय तथा सल्लाह–सुझाव पेस गर्न सेबोनले आह्वान गरेको छ। 

सुझाव ई–मेल  research@sebon.gov.np मा उपलब्ध गराउन सेबोनले आग्रह गरेको छ।