काठमाण्डौ । नेपाल रत्न तथा आभुषण संघ (नेग्जा)को तत्वावधानमा आगामी पुस २५ देखि २७ गते (तदानुसार जनवरी १०–१२, २०२०) सम्म होटल सोल्टी क्राउन प्लाजा, ताहाचल, काठमाण्डौमा “तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो – २०२०” आयोजना हुने भएको छ । 

परम्परा देखि विकसित हुँदै वर्तमानसम्म आइपुग्दा ज्वेलरीले वृहत र आधुनिक उद्यम, व्यवसायको स्वरुप एवं आकार धारण गरिसकेको छ । अर्वौं लगानी भइसकेको यस क्षेत्रले सदर वार्षिक रु. आठ अर्वभन्दा बढी रकम राजश्वमा योगदान गरिरहेको छ । उद्यमी, व्यवसायी देखि कालिगढ सम्मको प्रत्यक्ष र आश्रित संख्याको समेत आंकलन गर्दा लाखौं व्यक्तिको संलग्नता एवं जीविकोपार्जनको आधार बनिसकेको छ ।

सरकारले जेम एण्ड ज्वेलरी समेतका विभिन्न ३६ वटा वस्तु तथा सेवालाई निर्यातका अधिक सम्भावनायुक्त वस्तु तथा सेवाको श्रेणीमा वर्गीकृत गरेको छ । तर आभुषण निर्यातले अपेक्षित गति लिन सकेको छैन ।

एक्स्पो समुद्घाटन एवं संचलान हुनुभन्दा एक दिन अघि अर्थात २०७६ साल पुस २५ गते (जनवरी १०, २०२०) शुक्रबार नेपाली मौलिक गहनाहरुको “फेशन शो” आयोजना गरिने आयोजकले जनाएको छ । उक्तः “फेशन शो” मा भारतलगायत अन्य केही मित्र राष्ट्रहरुका ख्याति प्राप्त विशिष्ट कलाकारहरु समेत नेपाली आभुषणहरुका साथ प्रस्तुत हुनेछ । 

यस तेश्रो नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो – २०२० मा नेपाल सरकार, नेपालस्थित कुटनीतिक नियोगहरु लगायत निजी क्षेत्रका महासंघ, संघ आदि संस्थाहरुसंग सहकार्य गरिने छ । मुलुकका प्रमुख एवं प्रतिष्ठित करिव ४० वटा ज्वेलर्स कम्पनीहरुले एक्स्पोमा आफ्ना उत्पादनहरु प्रर्दशन गर्नेछन् । दश हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

नेपाल रत्न तथा आभुषण संघ (नेग्जा) मुलुकमा हीरा, जवाहारात आदि वहुमूल्य रत्न, पत्थर आभुषण व्यवासायीहरुको पहिलो संस्था हो ।