बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट आयात र निर्यातको असन्तुलन रोक्ने, भूकम्पले भत्काएका संरचना निर्माण र सवल अर्थतन्त्रकेन्द्रित हुने बताएका छन्।
मन्त्री पौडेलले संविधानको कार्यान्वयनलाई बजेटमा पहिलो प्राथमिकता दिइने बताउँदै संविधानले मार्गदर्शन गरेका प्रमुख विषय र प्राकृतिक बिपत्ति (भूकम्प) र गैरप्राकृतिक प्रकोप (आपूर्ति अवरोध)ले विकास बजेटमा कमी हुन सक्नेसमेत बताए।
बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा बुटवलमा भएको आव २०७३/७४ को बजेटपूर्व अर्थमन्त्रालयको राजस्व परामर्श समितिसँग गरिएको अन्तक्रियामा उनले सरकार मुलुकभित्रै रोजगारी कसरी सिर्जना गर्ने, आयात निर्यातको असन्तुलन कम गर्ने र सवल सुदृढ अर्थ व्यवस्थाको विकासमा केन्द्रित रहेको बताए। उनले भन्सार प्रणाली, विप्रेषणमा आधारित अर्थ व्यवस्थाले मुलुकको अर्थतन्त्र सवल हुन नसक्ने र मुलुकमा प्रगति हुन नसक्ने बताउँदै आगामी बजेटले भन्सार र विप्रेषणमा आधारित अर्थ व्यवस्थालाई निरुत्साहित गर्ने बताए।
अर्थमन्त्री पौडेलले अहिले ठूलो व्यापार घाटा सहनुपरेको उल्लेख गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने गरी बजेटमा ध्यान दिइने बताए। उनले आफूले यस क्षेत्रमा निर्माणाधीन योजनामा बजेट कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। लुम्बिनीको महत्व निकै ठूलो रहेकाले लुम्बिनीको विकासले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए। उनले भैरहवा–लुम्बिनी सडकका उद्योग स्थानान्तरण गर्न आवश्यक रहेको समेत बताए।
आव २०७३/७४ को बजेट अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं ५ मा भएका उद्योगी, व्यापारिक सङ्घसंस्थाका पदाधिकारी, उद्योगी व्यवसायी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । उनीहरुले यस प्रदेशको विकास निर्माणसँगै औद्योगिक विकास तथा उद्योग सञ्चालनमा देखिएका समस्या समाधानका लागि मन्त्रीसँग माग गरेका थिए ।
कार्यक्रममा अर्थ सचिव राजन खनालले चालु आवमा ४० अर्ब बराबरको कृषिजन्य वस्तुको आयात भएको बताउँदै कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखेर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले उद्योग सञ्चालनमा देखिएका दरार हटाउन माग गर्दै उद्योगमा लगानी गर्ने वातावरण बनेमात्रै मुलुकमा औद्योगिक विकास र त्यसैको जगबाट आर्थिक विकास गर्न सकिने भनाइ राखे।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले यस क्षेत्रमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र ग्रेटर लुम्बिनीलाई बजेटको अभाव हुन नहुने बताए । रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले नयाँ औद्योगिक क्षेत्रका लागि बजेटमा नयाँ कार्यक्रम ल्याउन आग्रह गरे। रासस
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago