काठमाण्डौ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ। 

सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो। विश्व बैंकले नेपाल सरकारले गरेको अनुमानभन्दा करिब आधा कममात्र आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण गरेको छ। सरकारले आगामी आव २०७८/७९ को बजेटमा आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

विश्व बैंकले चालु आर्थिक वर्ष २०७७/७८ मा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमात्र हुने प्रक्षेपण गरेको छ। जुन सरकारले गरेको अनुमानको तुलनामा कम हो। चालु आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको हाराहारी आर्थिक वृद्धि प्राप्त हुने संशोधित अनुमान गरेको छ। 

यसैगरी विश्व बैंकले भारत आर्थिक वृद्धिदर यो वर्ष ७.३ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ। सन् २०२२ मा भने भारतको अर्थतन्त्रमा उच्च सुधार हुँदै आर्थिक वृद्धि पनि ८.३ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ। 

यो वर्ष माल्दिभ्यसको आर्थिक वृद्धिदर सबैभन्दा उच्च १७.१ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण गरेको छ।