– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण बजार आइतबार र सोमबार बन्द रह्यो। तीन दिन खुलेमा बजार दुई दिन घट्यो भने भने एक दिन बढेको छ। 

अघिल्लो साता अन्तिम कारोबार दिनमा बजार १९३६.८४ को विन्दुमा बन्द भएको थियो। यो साताको अन्तिम कारोबार दिनमा बजार १९३३.५५ मा बन्द भएको छ। यो हिसाबले बजारमा जम्मा ३.२९ अंकको गिरावट आएको छ। अघिल्लो साता बजार ४३.१३ अंकले बढेको थियो। 

यो साता बजारमा ३ अर्ब २६ करोड रुपैयाँको मात्रै कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ७ अर्ब १४ करोड रुपैयाँबराबरको भएको थियो। अघिल्लो साताको तुलनामा यो साता सूचक र कारोबार दुवैमा गिरावट आएको छ। 

प्राविधिक पक्ष

मुभिङ एभरेजका आधारमा

मुभिङ एभरेज भनेको मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ। यस्तो विधि विशेषगरी ५० दिने र २०० दिने तथा ५ दिने २० दिने कुनै पनि विधि सेयर बजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ। बजारमा अहिलेको अवस्थामा हेर्दा २० दिने मुभिङ एभरेजलाई ५ दिने मुभिङ एभरेज रेखाले गत १ नेभेम्बरमा तलबाट काटेर बनेको बुलिस बनेको हालसम्म पनि भ्यालिड नै छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस् हरियो एरो) 

सुपर ट्रेन्डका आधारमा 

दैनिक चार्टअन्तर्गत बजारलाई सुपर ट्रेन्डमार्फत हेर्दा गत १ नोभेम्बरमा खरिद सिग्नल दिएको छ। सुपर ट्रेन्डमा यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि जान्छ भने बजार बुलिस बनेको मानिन्छ। यसको कन्फर्मेसनका लागि एक–दुई दिनको क्यान्डल हरियो मारुबुजु बन्नुपर्ने हुन्छ। सुपर ट्रेन्डमार्फत बजारलाई हेर्दा यदि आगामी कारोबारमा बजारले १९९० भन्दा माथि गएमा बुलिस हुँदै गएको मानिन्छ। 

बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई 

बोलिंगर ब्यान्डमार्फत बजारलाई साप्ताहिक चार्टमा हेर्दा बजारले विगत ४ सातादेखि मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। यो साता पनि बजारले साप्ताहिक चार्टको मध्य ब्यान्डलाई ब्रेक गरेर माथि जान सकेन। यसअघि दुईपटक बजारले मार्च २० र जुलाई ३० मा मध्य ब्यान्ड ब्रेक गर्ने कोसिस गरेको देखिन्छ तर सकेको छैन। 

प्राविधिक रुपमा यो साता पनि बजारमा कुनै ठूलो फेरबदल भएको देखिँदैन। बजार १८०० देखि २०००  सम्म रहुन्जे साइड मार्केट नै हुने देखिन्छ। आगामी कारोबारमा बजारले १९९० भन्दा माथि गएर कारोबार भएको अवस्थामा भने बोलिंगर  ब्यान्डको मध्य ब्यान्डलाई ब्रेक गरेर बजारले खरिदका लागि कन्फर्मेसन दिएको मानिनेछ। साप्ताहिक चार्टमै बजारलाई म्याक्डीमार्फत हेर्दा अक्टोबार ९ मा बुलिसक्रस बनेको हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्रामहरु पोजिटिभ र लामा–लामा बन्दै गएको देखिन्छ। 

आरएसआईमा पनि ३० को ओभर सोल्ड जोनबाट बजार ४२ को तहमा बढ्दो गतिमा रहेको छ। यदि साप्ताहिक चार्टमै आरएसआईले ४५ भन्दा माथि लाग्छ भने बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १९६०
  • प्रतिरोध २– १९७८
  • प्रतिरोध ३– २०१८

पिभट प्वइन्टः  १९१८

घटेमा सपोर्ट 

  • सपोर्ट १– १९१८
  • सपोर्ट २– १८५८
  • सपोर्ट ३– १८३७

निष्कर्ष

यो साता सेयर बजारमा ठूलो उतारचढाव भएन। यस हिसाबले प्राविधिक रुपमा पनि धेरै परिर्वतन देखिँदैन। विभिन्न इन्डिकेटरमार्फत बजारलाई हेर्दा १८०० देखि २००० सम्मको बजारलाई साइडवज देखिन्छ। पिभटमार्फत बजारलाई हेर्दा यो साता पिभट प्वइन्टको विन्दु १९१८ भन्दा माथि १९३३ मा बजार रहेको छ। यसले बजार मजबुत नै रहेको बुझिन्छ। बजारले यदि आगामी कारोबारमा १९६० भन्दा माथि भोलुमसहित पिभट प्वइन्टको पहिलो प्रतिरोध ब्रेक गरेमा बजारको बुलिस यात्रा तय हुन सक्छ। 

नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।