काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम एवं बजेटमा सामवेश हुनुपर्ने सुझावहरु अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रस्तुत गरेको छ। 

भौतिक पूर्वाधारको निर्माण तथा सञ्चालनमार्फत मुलुकको सामाजिक आवश्यकताहरु पूरा गर्न, आमजनमानसको दैनिकी सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक वृद्धिलाई सहयोग पुर्याउन पूर्वाधार विकासमा लगानीको पर्याप्त वृद्धि हुनुपर्ने पृष्टभूमिमा सार्वजनिक पूर्वाधारका परियोजनाहरुमा व्यावसायिक संमिश्रण आवश्यक रहेको मुख्य विषयसहितको सुझाव निफ्राले प्रस्तुत गरेको हो।

उक्त प्रस्तुतीकरणमा अर्थ मन्त्रालयका तर्फबाट राजस्व सचिव, मन्त्रालयका सहसचिवहरु एवं निफ्राका तर्फबाट अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो। 

मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरुलाई आवश्यक वित्तीय पहुँच पुर्याउने मुख्य उद्देश्य लिई सार्वजनिक निजी साझेदारीको अवधारणामा स्थापित निफ्राले पूर्वाधार विकासमा नोडल संस्थाका रुपमा रही कार्य गर्न सक्ने प्रतिबद्धता जाहेर गरेको छ। निफ्राले लिएको कार्यदिशा एवं  हालसम्म प्राप्त गरेका उपलब्धिहरुको संक्षिप्त विवरणसमेत अर्थ पौडेलसमक्षम प्रस्तुत गरिएको थियो।