– अर्जुन तिमिल्सिना

काठमाण्डौ। अहिले दैनिक बढिरहेको सेयर बजारमा लाखौँ लगानीकर्ताको उत्साहकजनक सहभागिता रहेको छ। 

यो साता सेयर बजारले नयाँ–नयाँ कीर्तिमान बनाएको छ। कारोबारसँगै परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ। यो साता ५२ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। जुन अघिल्लो साताभन्दा झन्डै ८४ प्रतिशतले बढी हो। 

यो साताको बजार ट्रेन्डलाई नियाल्दा लगानीकर्ता विस्तारै बलिया र सुरक्षित कम्पनीतिर आकर्षित भएको देखिन्छ। यसै सिलसिलामा आज धेरै लगानीकर्ताको नजरमा परेको सिभिल बैंकको प्राविधिक तथा आधारभूत विश्लेषण गरेका छौँ।

आधारभूत पक्ष

नेपालका २७ वटा वाणिज्य बैंकमध्ये सिभिल पनि एउटा हो। यो बैंकको राजधानीमा २९ वटा र राजधानीबाहिर ९२ वटा शाखा छन्। क्यापिटल र रेमिटेन्सलाई पनि आम्दानीको स्रोत बनाएको यो बैंकको चालु् आर्थिक वर्षको चैत मसान्त सेयरपुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख  ३८ हजार रुपैयाँ रहेको छ। रिर्टन अन अर्निङमा  ६१ करोड ७६ लाख २६ हजार रहेको बैंकले तेस्रो त्रैमाससम्म ५० करोड २५ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६.३१ रुपैयाँ र नेटवर्थ १२३.३३ रुपैयाँ रहेको छ। बैंकले निष्क्रिय कर्जा गत वर्षको तुलनामा २.९६ बाट घटाएर १.१५ प्रतिशतले घटाएको छ। 

बैंककको सञ्चालकमा बैंकिङ क्षेत्रमा लामो अनुभव रहेका इच्छाराज तामाङ छन्। बैंकमा सर्वसाधरणको ४९ प्रतिशत र संस्थापकको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्त 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा बजारमा सेयरमूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।   यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।   इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी, सीले बजार तल जाने संकेत गर्छ। 

यो बैंकले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत जिगज्याग वेभ बनाउँदै वेभ ५ चलेको देखिन्छ। यो वेभले यो बैंकको मूल्य ३०० माथि पुग्ने जनाउँछ। (तस्बिर माथि)

फिवोनासी सिद्धान्त 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो औजारअन्तर्गत आगामी दिनमा यदि यो बैंकको सेयरभाउ बढेमा ०.६१ को प्रतिरोध २५२.६९ रुपैयाँ, ०.७८ को प्रतिरोध २६३.६३ रुपैयाँ, १ प्रतिशतको प्रतिरोध २७५ रुपैयाँ हुन्छ भने १.६१ प्रतिशतको वृद्धि ३१३ रुपैयाँसम्म  हुनेछ।

एमएसीडी लाइन

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत मे ९ मा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र यो बैंकको सेयरमूल्य २३५ रुपैयाँमा खरिद सिग्नल बनेको देखिन्छ। जसले खरिद सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम पोजेटिभ र लामा–लामा हुँदै गएकोले केही समय बुलिस नै रहने अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्ड

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो बैंकको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको तथा सेयरको अन्तिम कारोबारको मैनबत्ती लामो र हरियो क्यान्डल बनाएकोले आगामी कारोबारमा खरिद चाप पर्न सक्ने देखिन्छ।

आरएसआई

यो विन्दुअन्तर्गत १४ दनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्टाइन्छ। यो बैंकको हालको आरएसआई ७७.७५ रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोनमा छ। अघिल्लो पल्ट यो विन्दु ८३.६७ को तहमा पुगेपछि करेक्सन आएको थियो यसलाई आधार मान्ने हो भने आगामी दिनमा यो बैंकको सेयरभाउ केही बढेर करेक्सन आउने देखिन्छ।

पिभट विश्लेषण 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २७३

प्रतिराध २– २७९ 

प्रतिराध ३– २९६

पिभट पेइन्ट– २६२

घटेमा सर्पोट 

सपोर्ट १– २५६

सर्पोट २– २४५

सर्पोट ३– २२८

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एउटा औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।