काठमाण्डौ । धेरैलाई लाग्नसक्ला, डाक्टर र इञ्जिनियरहरुको सबैभन्दा बढी तलब होला । तर अब यो कुरा भ्रममा सीमित बन्न पुुगेको छ । त्यति मात्र होइन, पछिल्लो सालमा नयाँ नयाँ जागिरमा निकै आकर्षक तलब र सेवासुविधाहरु पनि पाइन्छ । तपाईले आधुनिक र समय सापेक्ष जागिर वा व्यवसाय चुन्न सक्नुुभयो नेपालमा मात्र होइन, विदेशमा गएर समेत राम्रो कमाई गर्न सक्नुहुुन्छ । मिडिया रिपोर्टहरुका अनुसार आगामी दिनमा ५ व्यवसाय गर्ने वा जागिर खानेहरु मालामाल हुनेछन् । के हुन् त ती व्यवसाय वा क्षेत्र ? 

सोशल मिडिया मेनेजर

ठूला कम्पनीहरुमा ब्राण्ड कल्चर निकै फस्टाएको छ । योसँगै सोशल मिडिया मेनेजरको भूमिका समेत निकै प्रभावकारी भइरहेको छ । यो क्षेत्रमा मानिसहरुसँगको अनुुभव १० वर्ष भन्दा बढीको छैन, यसकारण पनि यो क्षेत्रमा कम जनशक्ति छ र उत्तिकै संभावना पनि । सोशल मिडियामा सक्रिय मानिसहरुमार्फत कुनै पनि कम्पनीको ब्राण्ड प्रोमोसन गर्ने काम सोशल मिडिया मेनेजरको हो । फेसबुक, ट्वीटर प्रयोगकर्ताको वृद्धिसँगै नेपालकै ठूलो औद्योगिक घराना, कम्पनी तथा बैंक तथा बित्तीय संस्थाहरुले समेत यो पदमा कर्मचारी नियुक्त गर्न थालेका छन् । पढाई थोरै भएर पनि यदि तपाई सोसल मिडियामा सक्रिय र एक्सपर्ट हुनुहुन्छ भने यो क्षेत्रमा राम्रो करिअर बनाउन सक्नुुहुन्छ । यो पदमा जागिर खाएरै पनि महिनाको ४० हजारदेखि १ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । यो क्षेत्रमा अझ बढी अनुुभवी हुनुहुन्छ, अंग्रेजी भाषाको राम्रो ज्ञान छ भने भारत वा अन्य मुलुकमा गएर काम गर्दा मासिक ५ लाख रुपैयाँसम्म कमाउन सकिन्छ । 

टेक्निकल राइटर
लेखक र कन्टेन्ट लेखक अलग कुरा हो । आगामी वर्षहरुमा टेक्निकल राइटरका लागि सुखद समय आउँदैछ । यिनीहरुको काम लेख्ने नै हो, तर यिनीहरु कुनै आइटी फर्म वा प्रोग्रामिङ कम्पनीका लागि टेक्निकल कन्टेन्ट लेख्ने गर्छन । एनसेल जस्ता कम्पनीहरुले यस्तो जागिरको अवसर दिने गर्छन । यस्ता राइटरको तलब मासिक ८० हजारदेखि २ लाख रुपैयाँसम्म हुन्छ । भारत वा अन्य मुलुक गएर यो काम राम्रोसँग गर्नसक्नेको तलब मासिक ३ लाख रुपैयाँसम्म हुन्छ । 

ग्रोथ ह्याकर
यो शब्द तपाईलाई बिल्कुल नयाँ लाग्नसक्छ । मार्केटिङ च्यानलमा नयाँ तरिका वा शैली अपनाएर सबैभन्दा प्रभावकारी ढंगले विजिनेशलाई बढाउने काम गर्ने व्यक्ति ग्रोथ ह्याकर भनिन्छ । यसमा पारम्परिक तथा गैर पारम्परिक दुवै तरिका अपनाएर विजिनेशको ग्रोथ बढाउने काम गर्नुपर्ने हुनसक्छ । यसका लागि शैक्षिक योग्यता भन्दा पनि कन्सेप्ट महत्वपूर्ण हुन्छ । नेपालका सीमित संख्याका कम्पनीहरुले मात्र यस्ता मानिसको भर्ति गर्ने गरेका छन् । आगामी दिनमा यस्तो जनशक्तिको अझ बढी माग हुनेछ । नेपालमा ५० हजारदेखि मासिक ८० हजारसम्म तलब हुनसक्छ भने भारत तथा अन्य देशमा यही काम राम्रोसँग गर्नेको तलब २ देखि ३ लाख रुपैयाँसम्म हुनसक्छ ।

रिलेसनसीप थेरापिस्ट
अमेरिकी र यूरोपियन मुलुकमा यो निकै चलेको व्यवसाय हो । नेपालमा केही ठाउँमा मात्र यस्तो सेवा पाइन्छ, त्यो पनि पूर्ण व्यवसायिक रुपमा होइन । सन् २०१७ र त्यसपछिको दिनमा नेपालमा समेत यो व्यवसायले रफ्तार पक्रन सक्छ । शहरी संस्कृतिसँगै यो व्यवसायको आवश्यकता समेत बढिरहेको छ । यो व्यवसायमा तपाईको काम मानिसहरुको वैवाहिक सम्बन्ध वा अन्य खालका सम्बन्धमा आएको समस्या समाधानका लागि कोशिश गर्ने वा काउन्सिलिङ गर्ने हो । यसमा आफैंले कम्पनी खोलेर कुस्त कमाउन सकिन्छ । भारत वा अन्य देशमा गएर यो काम गर्छु भन्ने हो भने मासिक तलब डेढ लाखदेखि ५ लाख रुपैयाँसम्म हुन्छ । 

एसइओ एनालिस्ट
यो व्यवसाय सोशल मिडिया मेनेजर र ग्रोथ ह्याकरकै ठूलो रुप हो । संसारसँगै नेपालमा पनि बिस्तारै डिजिटलाइजेसन भइरहेको छ । यस्तो अवस्थामा हरेक कम्पनी इन्टरनेटको दुनियाँमा आफ्नो पहुँच बढाउने उद्देश्यले एसईओ एनालिस्ट राख्ने गर्छन । यसमा गुुगल सर्चमा कम्पनीको रिजल्ट्स हेर्ने तथा विश्लेष गर्ने तथा सोसल मिडियामा समेत काम गर्ने हुनसक्छ । यो काममा तलब पनि मासिक ५० हजारदेखि डेढ लाखसम्म हुन्छ । यो काममा पोख्तहरुले भारत वा अन्य देशमा गएर जागिर खाँदा मासिक कमाई २ देखि ४ लाख रुपैयाँसम्म कमाउन सक्छन् ।