काठमाण्डौ । भर्खर आईपीओ निष्कासन गरी बाँडफाँड गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आगामी साताभित्रै धितोपत्र दोस्रो बजारमा ल्याउने गरी प्रक्रियाहरु द्रुत गतिमा अगाडि बढाइएको छ। 

आईपीओ निष्कासन गरेको एक साताभित्रै बाँडफाँड गरिएको युनियन लाइफको सेयर आगामी साताभित्रै कारोबारमा ल्याउनका लागि धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ। ‘सीडीएससीमा दर्ता गर्ने काम भइरहेको छ’, क्यापिटलका एक अधिकारीले भने , ‘आगामी साताभित्रै नेप्सेमा सूचीकरणको प्रक्रिया पनि सुरु हुन्छ।’

क्यापिटलका अनुसार यी सबै प्रक्रिया तीव्रगतिमा सम्पन्न गरी आगामी साताभित्रै युनियन लाइफको सेयर धितोपत्र दोस्रो बजारमा कारोबार ल्याउने लक्ष्य राखिएको छ। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सबै कागजपत्र पूरा गरेर आएमा २–३ तीन दिनभित्रै नेप्सेले कुनै पनि कम्पनी सेयर सूचीकरण गरिदिने जानकारी दिए। 

युनियन लाइफ इन्स्योरेन्सले गत असार २४ गतेदेखि असार २८ गतेसम्म ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको थियो। आईपीओ बाँडफाँड भने गोलाप्रथाबाट असार ३१ गते गरिएको थियो।