– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । कोभिड महामारीबीच विश्वभरका सेयर बजार उकालो लागेका छन्। नेपालको सेयर बजारमा उछाल आएको छ।

कोभिड महामारीका कारण अन्य क्षेत्र सुस्ताएका कारण सेयर बजारमा अचाक्ली आकर्षण बढेको छ। जसका कारण अहिले सेयर बजारमा आमसर्वसाधारणको चासो निकै बढेको पाइन्छ।

त्यसो त बुलिस ट्रेन्डमा रहेको नेपालको सेयर बजारमा अहिले सेक्टरवाइज उछाल आइरहेको विश्लेषकहरु बताउँछन्। यो साता फाइनान्स, जलविद्युत तथा विकास बैंकमा नाफा बुक गरेर लगानीकर्ता अब आगामी साताबाट बीमा र लघुवित्तमा झुम्मिन सक्ने उनीहरुको भनाइ छ। 

यसै सिलसिलामा आज हामीले नेपालमा सञ्चालित २० वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा हिमालयन जनरल इन्स्योरेन्सलाई आधारभूत तथा प्राविधि पक्षबाट केलाउने कोसिस गरेका छौँ। 

आधारभूत पक्ष

हिमालयन जनरल इन्स्योरेन्समा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ५१ः४९ प्रतिशत रहेको छ। हाल देशभर यो कम्पनीका २८ वटा शाखा छन्। तीमध्ये उपत्यकामा ८ वटा र उपत्यकाबाहिर २० वटा छन्। 

हालै सार्वजनिक गत आर्थिक वर्षको चौथो  त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ। रिजर्भमा २४ करोड ६७ लाख रुपैयाँ र बीमा कोषमा ६३ करोड ९७ लाख रुपैयाँ छ। 

कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.२२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति २५३.२२ रुपैयाँ, प्रतिसेयर आम्दानी १४.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५५.३२ गुणा रहेको छ। यो कम्पनीको ६ वर्षको वार्षिक औसत लाभांशदर १३.६४ प्रतिशत रहेको छ।

समीक्ष अवधिमा कम्पनीले १० करोड १६ लाख रुपैयाँ बढी खुद नाफा गरेको छ। व्यापार विस्तारको हिसाबले कम्पनीले बोनस तथा हकप्रदबाट पुँजी वृद्धि गर्नुपर्ने देखिन्छ। 

प्राविधि पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विष्लेषणमा यो वेभ धेरै विश्वासिलो मानिन्छ। किनकि यसले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। 

खासमा सेयर बजारमा सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयाअवधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखा चित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा माइनर डिग्रीअन्तर्गत वेभ (५) चलेको देखिन्छ। फिवोनासी एक्सटेन्सनका आधारमा अन्तिमपटक बढेको विन्दुबाट घटेको विन्दुसम्म फिवोनासी लिँदा १.६१ प्रतिशतको वृद्धिले सेयरभाउ १०८० रुपैयाँसम्म पुन्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी रिट्रेसमेन्टका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ९२५ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ८९० रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ८७५ रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा ८६१ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा ८३३ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १५ अगस्टका दिन  एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सिग्नल अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम नेगेटिभ तर विस्तारै छोटा–छोटा भएको देखिन्छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समयमा बुलिस हुन सक्ने अनुमान लगाउन सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखा मध्य रेखाभन्दा माथि नै रहेकोले सेयर बुलिस विन्दुमै रहेको अनुमान लगाउन सकिन्छ। कारोबराको अन्तिम दिनको मैनबत्ती हरियो बनेको छ। अन्तिम कारोबारमा भने केही बिक्रीचाप परेको देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ७० रहेको छ। जसको अर्थ हुन्छ, ओभर सोल्ड जोन छ। अघिल्लोपटक यो न्यून विन्दु ४२.४६ को तहमा पुगेपछि सेयरभाउ उकालो लागेको थियो भने उच्चतम विन्दु ७९ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। कम्पनीको आरएसआई ओभर बट जोनमा रहेको भए पनि आरएसआई बढ्दो क्रममा रहेको देखिन्छ। यसले बजारमा यो कम्पनीको सेयरमा अझै केही समय खरिद चाप हुन सक्ने अनुमान लगाउन सकिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ८९६
  • प्रतिरोध २– ९१८
  • प्रतिरोध ३– ९५५

पिभट प्वइन्ट :  ८८१

घटेमा सर्पोट 

  • सपोर्ट १– ८५९   
  • सर्पोट २– ८४४
  • सर्पोट ३– ८०७

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।