काठमाण्डौ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाव संकलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ।

आगामी आवको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दूरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार कार्यालय समयमा फोन गरी सर्वसाधारणले आफूलाई  लागेको सुझाव टिपाउन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै मन्त्रालयको वेभसाइटमा रहेको ‘बजेट सजेसन’ मा क्लिक गरेर पनि सुझाव पेस गर्न सक्ने व्यवस्था गरिएको छ भने ई–मेलमार्फत (budgetsuggestion@mof.gov.np)  सुझाव पेस गर्न सकिने व्यवस्था पनि गरिएको छ।

बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी र कार्यान्वयनयोग्य बनाउन उद्योगी, व्यवसायी, बुद्धिजीवी, राजनीतिज्ञ, समाजसेवी, पसाकर्मी, सञ्चारकर्मी, आम नागरिक एवं सरोकार राख्ने सबैको सुझाव महत्वपूर्ण हुने भएकाले बजेटमा सम्बोधन गर्नुपर्ने सान्दर्भिक विषयवस्तुहरु चैत मसान्तभित्र लिखित वा मौखिक (टेलिफोन) रुपमा उपलब्ध गराउन अर्थ मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयले अहिले कृषि, शिक्षा, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्र, निजी क्षेत्र, अर्थविद्लगायतसँग नीति तथा कार्यक्रम र बजेटका लागि सुझाव संकलन गरिसकेको छ। 

मन्त्रालयले हप्तामा दुईवटासम्म छलफल आयोजना गरी विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवाला क्षेत्रका प्रतिनिधिबाट बजेटबारे सुझाव संकलन गरिरहेको छ।