काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्। 

“सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि” भन्ने मूल नाराका साथ देशव्यापी रुपमा मनाउन थालिएको छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो लक्ष्य रहेको जानकारी गराएका हुन्। स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा शुभकामना व्यक्त गर्दै उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेको उल्लेख गरेका छन्। 

सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरु सूचना प्रविधिमैत्री हुँदै गइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ। ‘पछिल्लो समयमा सार्वजनिक सेवा प्रवाहका क्षेत्रलाई सहज र सरल बनाउने सन्दर्भमा पनि सूचना तथा सञ्चार प्रविधि थप सहयोगी बन्दै गइरहेको छ’, उनले भनेका छन्। 

सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। ‘यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको छ’, सन्देशमा भनिएको छ, ‘नेपाल सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ कार्यान्वयनमा ल्याएको छ। साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति–नियम र संचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको छ। चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको छ।’  

सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने पनि सन्देशमा उल्लेख छ। ‘दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि लागि सबै जिल्लाहरुमा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको छ’, सन्देशमा भनिएको छ, ‘अफ्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको छ। आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्याउने सरकारको लक्ष्य रहेको छ।’ 

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आमजनताको जीवनमा रुपान्तरण ल्याउनका लागि सम्बद्ध सबै पक्षसँग प्रधानमन्त्री दाहालले अपिल गरेका छन्।