काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ।
समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो। मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम केन्द्रीय बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।
मौद्रिक नीति ल्याउन राष्ट्र बैंकले केही दिन अघिमात्रै एउटा सूचना जारी गर्दै सरोकारवालासँग राय–सुझाव माग गरेको छ। सरोकारवालाले मौद्रिक नीतिका लागि आफ्ना राय–सुझाव आउँदो असार १० गतेभित्र पठाइसक्नुपर्नेछ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले अहिले राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति निर्माणको सुरुआती चरणमा रहेको बताए। ‘मौद्रिक नीतिमा समेट्न सरोकारवालाहरुसँग केही दिनअघिमात्रै राय–सुझाव मागिएको छ’, उनले भने, ‘आएका राय–सुझावमाथि सम्बन्धित विभागले अध्ययन गर्नेछ।’
मौद्रिक नीति आउँदो साउन पहिलो साता आउन सक्ने पोखरेलको भनाइ छ। ‘प्रक्रियागत ढंगले काम हुँदै गएमा मौद्रिक नीति साउनको पहिलो सातासम्म आउन सक्छ’, उनले भने।
3 minutes ago
23 minutes ago
25 minutes ago
31 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago