काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार ३०० भन्दा माथिको दरमा खरीदबिक्री भइरहेको प्रिमियर इन्स्योरेन्सको एफपीओ ७ सय ९९ रुपैयाँमै पाउने अवसर आज(आइतबार)देखि खुलेको छ । 

इन्स्योरेन्स कम्पनीले १०० रुपैयाँ फेस भ्यालूमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७ सय ९९ रुपैयाँको दरले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ निश्कासन गरेको हो । 

आजदेखि निश्कासित ५२ करोड ६९ लाख ९२ हजार ४ सय ३५ रुपैयाँ बराबरको एफपीओ खरीदका लागि छिटोमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो मितिसम्म पनि पर्याप्त आवेदन नपरे अधिकतम मिति माघ १५ लाई तोकिएको छ । 

यो कम्पनीको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल मार्केट लिमीटेडले गर्नेछ । 

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ३ हजार २ सय ९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट लगानीकर्ताले आवेदन फारम लिन र बुुझाउन सक्नेछन् ।

हाल यो कम्पनीको चुक्तापूँजी ४४ करोड ८५ लाख रुपैयाँ रहेको छ । एफपीओपछि चुक्तापूँजी बढेर साढे ५१ करोडको हाराहारीमा पुुग्नेछ । 

एफपीओ बिक्रीपछि प्रिमियमबाट मात्रै यो कम्पनीले ४६ करोड १० लाख बढी आम्दानी गर्नेछ । यो रकम सञ्चित कोषमा जम्मा हुनेछ । बिमा समितिले निर्जीवन बिमा कम्पनीको न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यो हिसाबले यो कम्पनीले आगामी दिनमा प्रिमियमबाट प्राप्त रकमको समेत सदुपयोग गर्दै लगानीकर्तालाई निकै राम्रो बोनस सेयर दिनसक्छ ।