काठमाण्डौ । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज बुधबारदेखि लगाउन सुरु गरिने भएको छ। 

यो खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थी, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी÷व्यक्ति, होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारीलगायत व्यापारी, प्राध्यापकलगायतलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

खोप काठमाण्डौका विभिन्न अस्पतालबाट लगाइनेछ। खोप अभियानका लागि सरकारले काठमाण्डौ उपत्यकाका १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको छ । जसअनुसार खोप वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निस्शुल्क चिकित्सालयबाट लगाइने मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाविरुद्ध प्रयोग हुन लागेको यो दोस्रो खोप हो। यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिन नेपालमा प्रयोग गरिँदै आएको थियो।

यसअघि चीनमै उत्पादित खोपको ८ लाख डोज चीनले नेपाललाई अनुदानमा दिएको थियो।