काठमाण्डौ । राइड सेयरिङ टुटल र पठाओको सेवा पनि आजबाट सुचारु भएको छ। 

उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा भाडाका ट्याक्सीसँगै निजी सवारीसाधन सञ्चालन गर्न खुला गरिएसँगै टुटल र पठाओले पनि आफ्नो सेवा सुचारु गरेको हो। 

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेसँगै यी दुवै कम्पनीका सेवा ठप्प भएका थिए। आजबाट स्थानीय प्रशासनले तोकेको जोर–बिजोर प्रणालीमै आफ्नो सेवा सुरु गरिएको दुवै कम्पनीले जनाएका छन्। 

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिने पनि टुटल र पठाओले जनाएका छन्।