काठमाण्डौ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि आज बिहीबारबाट काठमाण्डौ उपत्यकाका ३ जिल्लासहित १६ जिल्लामा निषेधाज्ञा जारी भएको छ। 

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा जारी गरेका हुन्। जसअनुसार १२ जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ। 

गत सोमबारको मन्त्रिपरिषदको बैठकले सीसीएमसीको सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ। पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० सक्रिय संक्रमितको संख्या नाघेमा निषेधाज्ञा जारी गर्ने नियम बनाइएको छ।

पूर्ण निषेधाज्ञा लागू गरिएका जिल्लाहरु

काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, पर्सा रूपन्देही, मोरङ, बाँके, दाङ, सुर्खेत, कैलाली र कास्की। 

स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिएका जिल्लाहरु

पाल्पा, बागलु, बर्दिया र कालिकोट। 

निषेधाज्ञा उल्लंघन गर्दा हुने सजाय

निषेधाज्ञा उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्छ। संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुनेसमेत व्यवस्था छ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५०० रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ।