काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले अन्य चार कम्पनीमा रहेका आफ्नो स्वामित्वको संस्थापक समूहको करिब सवा ६ लाख कित्ता सेयर आज सोमबारबाट लिलामीमा राखेको छ। 

बैंकले ती कम्पनीमा रहेको आफ्नो स्वामित्वको ६ लाख २३ हजार ८८० कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएका सेयरमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेसनल लाइफ इन्स्योरेन्सको १ लाख २ हजार ८६६ कित्ता, एसियन लाइफ इन्स्योरेन्सको १ लाख २८ हजार ७९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४ कित्ता रहेका छन्।

लिलामीमा राखिएको सेयरमा इच्छुक योग्य सबै लगानीकर्ताहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

लिलामीमा राखिएको नागरिक लगानी कोषको न्यूनतम प्रतिकित्ता १ हजार ५३० रुपैयाँ, नेसनल लाइफको ५०८ रुपैयाँ, एसियन लाइफको ४३३ रुपैयाँ र सूर्या लाइफको ३५० रुपैयाँ तोकिएको छ। यसका लागि लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ। बोलपत्र काठमाण्डौको बबरमहलस्थित क्यापिटलको कार्यालय वा एनआईसी एसिया बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयका साथै शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रचोक सुर्खेतमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम दिन माघ ५ गते बैंकिङ सयमसम्म तोकिएको छ।