काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रमा आज (असार ६ गते) देखि आवेदन खुला गरिएको छ। 

बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपुँजी रकमबराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्रको निष्कासन गरेको हो। यो ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ। 

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाइ रु. १००० दरमा किन्न पाइनेछ। ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्म खरिद आवेदन दिन सकिनेछ।

कुल निष्कासन हुने ७ लाख ५० हजार इकाइमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ३ लाख इकाइ सर्वसाधारणका लागि सार्वजनिक निष्कासनका माध्यमबाट बिक्री गरिन लागेको हो। सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाइमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार इकाइ भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ। 

बैंकको ऋणपत्रका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ। यसअघि नै नागरिक लगानी कोषसँग बैंकले डिबेन्चर प्रत्याभूतसम्बन्धी सम्झौतासमेत गरिसकेको छ।