काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आज असार १ गतेदेखि ५ करोड ८८ लाख रुपैयाँ बढीको आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले जारीपुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ५ लाख ८८ हजार ३७ कित्ता आईपीओ जारी गरेको हो। यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविक सार्दिखोला गाविस, घाचोक गाविस, लाहाचोक गाविस र धिताल गाविका) का बासिन्दाले आवेदन दिन पाउनेछन्।

स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार ३० गते बैंकिङ समयपछि हुनेछ। 

आईपीओका लागि काठमाण्डौको सिनामंगलस्थित मन्दाकिनी हाइड्रोपावरको रजिस्ट्रार कार्यालय, कास्कीको लाहाचोकस्थित पोखरा फाइनान्स, हेम्जाको एनएमबि बैंक र लामाचोरस्थित प्राइम कमर्सियल बैंक संकलन केन्द्र तोकिएको छ। 

यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ।