काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असार ७ गते) अन्तिम दिन रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि सीआईटीले भोलि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुले सीआईटीको लाभांश पाउनुका साथै सभामा भाग लिन योग्य पनि हुनेछन्।

सीआईटीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९ प्रतिशत बोनस सेयर र बाँकी ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेका छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न सीआईटीले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही असार १८ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँ बानेश्वरस्थित सीआईटीको केन्द्रीय कार्यालयमा अपराह्न २ बजेबाट सुरु हुनेछ।