काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ३६.५ प्रतिशत बोनस सेयर सुरक्षित गर्ने आज (असार १४ गते) अन्तिम मौका रहेको छ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि (असार १५ गते) देखि असार २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (असार १४ गते) सम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

कम्पनीले वार्षिक साधारणसभा यही असार २९ गते आयोजना गर्ने निर्णय गरेको । सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।

सोही सभाले गत आर्थिक वर्षका लागि घोषणा गरिएको चुक्तापुँजीको ३६.५ प्रतिशतले हुन आउने १७ करोड २८ लाख ४८ हजार १२२.५० रुपैयाँबराबरको बोनस सेयर (करबाहेक) अनुमोदन गर्नेछ। कम्पनीको चुक्तापुँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ रहेको छ।

सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १४७.५२ प्रतिशत (१ः१.४७५२ अनुपात) हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ।