काठमाण्डौ । नेप्सेमा सूचीकृत तीन कम्पनीले गत आर्थिक वर्षका लागि घोषणा गरेका लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम मौका रहेको छ।

महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको हो। यी तीन कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि पुस १३ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज पुस १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षका लागि कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश रहेका छन्। 

बैंकको प्रस्तावित लाभांश यही पुस २५ गते हुने २० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ। 

यसैगरी निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ३१.०५२६  प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २९.५ प्रतिशत बोनस सेयर र १.५५२६ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) रहेका छन्। 

संस्थाको प्रस्तावित लाभांश यही पुस २५ गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीले पाउनेछन्।

यस्तै नेपाल हाइड्रो डेभलपरले गत आर्थिक वर्षका लागि कुल ७.३६८४  प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) रहेका छन्। 

कम्पनीको प्रस्तावित लाभांश यही पुस २८ गते हुने १५ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।