काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आज बिहीबारै हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज राति अबरेसम्म युनियन लाइफको आईपीओ बाँडफाँड हुनेछ। ‘प्रिअलटमेन्टको सबै काम सकिएको र आर्थिक वर्षको अन्तिम दिन भएकोले आजै जसरी भए पनि आईपीओ बाँडफाँड गर्नुपर्छ’, प्रभु क्यापिटलका एक अधिकारीले भने।

ती अधिकारीका अनुसार आईपीओ बाँडफाँड हुने समय र स्थान तय भइनसकेको बताए। ‘प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड नहुन सक्छ’, ती अधिकारीले भने, ‘सकभर युनियन लाइफ इन्स्योरेन्सकै कार्यालय वा अन्य स्थानमा हुन सक्छ। तर आजै हुन्छ।’

गत असार २४ गतेदेखि असार २८ गतेसम्म बिक्री खुला गरिएको यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको छ। क्यापिटलका अनुसार अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि जीवन विकास लघुवित्तमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि जीवन विकास लघुवित्तमा सर्वाधिक २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो। 

यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। युनियन लाइफले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

प्रभु क्यापिटलका अनुसार अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा २१ लाख ७२ हजार ८६८ आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ता माग भएको छ। जुन मागभन्दा ५.९१ गुणाले बढी हो। 

यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुनेछ। जसमा भाग्यमानी ५ लाख ८० हजार ५०० जनाले १०÷१० कित्ताका दरले सेयर पाउनेछन् भने करिब १ लाख ६० हजार आवेदकको हात खालि हुने भएको छ।