काठमाण्डौ । देशभरको मौसम बिहीबार दिनभर सामान्य बदली रही केही स्थानमा पार्नी पर्ने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही बागमाती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ। 

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

देशभरका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय तथा पहिरो खस्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।