काठमाण्डौ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एण्ड लिजिङ कम्पनीले आजदेखि एकीकृत बित्तीय कारोबार सुरु गर्दैछन् । योसँगै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक इतिहासको पानामा सीमित हुँदैछ ।  

यी कम्पनीको मर्जरलाई नेपाल राष्ट्रबैंकले असार १ गते अन्तिम स्वीकृति दिएको थियो । 

मर्जरपछि यी दुुई संस्थाले ‘लुम्बिनी विकास बैंक’को रुपमा कारोबार थाल्दैछन् । लुम्बिनी विकास बैंकको मुख्य कार्यालय हाल भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको मुख्य कार्यालय रहेकै स्थानमा रहने बताइएको छ । 

यी दुुई संस्था १०० बराबर ८० को सेयर स्वाप रेसियोमा आपसमा गाभिएका हुन् । यसको अर्थ १०० कित्ता लुम्बिनी फाइनान्सको सेयर हुने सेयरधनीलाई लुम्बिनी विकास बैंकको ८० कित्ता सेयर उपलब्ध गराइनेछ । यस्तै, १ सय कित्ता भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर हुने धनीलाई लुम्बिनी विकास बैंकको १ सय कित्ता नै सेयर दिइनेछ । 

मर्जरपछि बन्ने लुम्बिनी विकास बैंकको चुक्तापूँजी २ अर्ब २६ करोड रुपैयाँ पुुग्नेछ । असार मसान्तसम्म २ अर्ब ५० करोड चुक्तापुँजी पुर्याउनुपर्ने बैंकले २४ करोड रुपैयाँ थपका लागि बोनसको बाटो रोज्न सक्नेछ ।