काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका अनुसार आज दिउँसो ३ः३० बजे यो कम्पनीको आईपीओ बाँडफाँड गरिनेछ। आईपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बिजुलीबजारस्थित कार्निभल रेष्टो एन्ड मिटिङ्समा राखिएको छ। 

यो आईपीओको प्रिअलटमेन्टको काम फागुन ३ गते सकिएको क्यापिटलले जनाएको छ। 

यो कम्पनीले गत माघ २६ गतेबाट फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। 

कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरिएको छ। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ५ लाख १६ हजार ७०८ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्। 

आईपीओ निष्कासनको अन्तिम दिनसम्म २४ लाख १५ हजार ९१९ आवेदकबाट २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५३.८७ गुणाले बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ। जसमा भाग्यमानी ५१ हजार ६७० आवेदकले १० कित्ता दरले सेयर पाउनेछन् भने तिनैमध्ये ८ आवेदकले थप १–१ कित्ता सेयर पाउनेछन्। 

इमर्जिङ नेपालको आईपीओलाई धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासन अनुमति दिएको थियो।