काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा आज हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ। 

फागु अर्थात् होलीको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरुमा वसन्त ऋतुका अनेक रङलाई प्रतिविम्बित गर्ने पर्वका रुपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ।

आज होलीको दिन देशका केही स्थानमा भने वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले केही स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हो। आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका १–२ स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 

उता लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। 

आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसबाहेक राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।