काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर बढेपछि बन्द भएको हवाई उडान सेवा सुचारु हुने भएको छ । 

सोमबारको मन्त्रीपरिषदको बैठकले आधा जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी अर्को आदेश नभएसम्मका लागि कुल उडान संख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक हवाई उडान सेवा सुचारु गर्न सकिने निर्णय गरेको हो । 

यस्तै, केही देशका लागि दुईतर्फी हवाई उडान समेत सुचारु गर्ने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले निर्देशन दिएको छ । 

अन्तराष्टिय उडानमा काठमाण्डौ दोहा रुटमा नेपाली वायुसेवाको २ उडान र कतारको वायुसेवाको २ गरी हप्तामा ४ उडान मात्र भर्न पाइनेछ । 

काठमाण्डौ-इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २, काठमाण्डौ-दुवई रुटमा नेपाली वायुसेवाको २ र संयुक्त अरब इमिरेट्सबाट काठमाण्डौ सम्बन्धित मुलुकको बायुसेवाको २ गरी हप्तामा ४ उडान भर्न पाइनेछ । 

काठमाण्डौ-दमाम रुटमा नेपाल वायुसेवाका हप्तामा २ उडान, काठमाण्डौ-कुवेत सिटी रुटमा कुवेतको बायुसेवाबाट हप्ताको २, काठमाण्डौ-मस्कट रुटमा ओमानको बायुसेवाबाट हप्तामा १, काठमाण्डौ-क्वालालाम्पुर रुटमा नेपाली वायुसेवाको २ र मलेसिया बायुसेवाको २ गरी हप्तामा ४ उडान, काठमाण्डौ-सियोल रुटमा दक्षिण कोरियाको बायुसेवाबाट हप्तामा १ उडान, काठमाण्डौ-टोकियो रुटमा नेपाली बायुसेवाको हप्तामा १, काठमाण्डौ-छेन्दू र काठमाण्डौ-ग्वाङजाओ रुटमा नेपाली वायुसेवाको हप्तामा १/१ उडान तथा चीनको बायुसेवाको एक/एक गरी हप्तामा २/२ उडानले अनुमति पाउनेछन् ।