काठमाण्डो । मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा वृद्धि लगायतका आफ्ना माग पूरा नभए आन्दोलन थाल्ने मदिरा व्यवसायीहरुले चेतावनी दिएका छन् । 

नेपाल मदिरा व्यवसायी महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै मूल्य अभिवृद्धि कर(भ्याट)को न्यूनतम सीमा (थ्रेसहोल्ड) वृद्धि गर्नुपर्ने, अवैध घरेलु मदिरालाई निरुत्साहित गरी उत्पादन र बिक्री वितरण बन्द गर्नु पर्ने लगायतका १६ बुँदे माग अघि सार्दै माग पूरा गर्नेतर्फ सरकारको ध्यान नगए सडक आन्दोलन सुरु गर्ने चेतावनी दिएको हो । 

नेपाल मदिरा व्यवसायी महासंघका अधिकारीहरुले सरकारले मदिरा व्यवसायीहरलाई व्यवस्थित गर्ने नाममा वाइनसप कन्सेप्टलाई अगाडि बढाएको ३–४ वर्ष बितिसक्दा समेत यसको ठोस कार्यान्वयनको नीति नल्याइदिँदा व्यवसायीले त्रासमा व्यापार गर्नुपरिरहेको  गुनासो गरे ।

महासंघले सरकारले व्यवसायीलाई जहिले पनि अपहेलनाको भावले हेर्ने गरेको आरोप लगाए । मदिरा व्यवसायीहरुको निश्चित कमिसन उत्पादकबाट नै तोकिएको हुँदा १ करोड भन्दा तलका व्यवसायीलाई निश्चित कर तोकी ०.५ प्रतिशतको करको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।