काठमाण्डौ । पुँजीबजार सुधार र विस्तारका लागि जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन अपिल गरिएको छ। 

पुँजीबजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइरालो आज यस्तो अपिल जारी गरेका हुन्। अपिलमा आमलगानीकर्ता, सम्बन्धित संघसंस्था, ब्रोकर, बैंकर एसोसिएसन, मर्चेन्ट बैंकरहरु, राजनीतिक दलहरु, कलाकारहरु, नागरिक समाज, मानवअधिकारकर्मीहरु एवं विभिन्न पेसा तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई आमरण अनशनसहितका आन्दोलनमा ऐक्यबद्धता जनाउन र आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउन अपिल गरिएको छ। 

संघर्ष समितिका संयोजक कोइराला हिजो बुधबारबाट ललितपुरको खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशनमा बसेका छन्। कोइरालाको स्वास्थ्य जटिलतालाई मध्यनजर गरी आन्दोलनमा उठाइएका १९ बुँदे माग यथाशीघ्र सम्बोधन गर्न पनि अपिल गरिएको छ। 

पुँजीबजार प्रभावित पार्ने खाले नीतिगत व्यवस्थाविरुद्ध लगानीकर्ताहरु गत २० गतेदेखि आन्दोलनमा उत्रिएका छन्।