काठमाण्डौ । नेपाल आयल निगमले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। 

आयल निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिन महासंघलाई आग्रह गरेको हो। महासंघको मागको सम्बन्धमा निगम व्यवस्थापन सकारात्मक भई समाधानका लागि आवश्यक पहल गरिरहेकोले आन्दोलनका कार्यक्रम फिर्ता लिन निगमले आग्रह गरेको छ। ‘महासंघको मागको सम्बन्धमा निगम सञ्चालक समिति पटक–पटक छलफल भई आवश्यक निर्णय हुने क्रममा छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले महान चाडपर्व सुरु हुने क्रममा रहेकोले अतिआवश्यकीय पेट्रोलियम पदार्थको आपूर्ति तथा बिक्रीवितरण सहज बनाउने कार्यमा सदाझैँ सहयोग गर्न आग्रह गर्दछौँ।’

महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषणा गरेको छ। भोलि शनिबारदेखि देशभर ढुवानी रोक्ने महासंघले जनाएको छ।