काठमाण्डौ । संकटमा परेको ओली सरकारका आपूर्तिमन्त्री गणेशबहादुर पुनले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन पूर्वाधार निर्माण कार्यलाई राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत राखिनुपर्नेमा जोड दिएका छन् । 

नेपाल चेम्बर अफ कमर्सद्वारा बुधबार कान्तिपथस्थित चेम्वर भवनमा आयोजित 'आपूर्ति व्यवस्थाका चुनौतिहरु' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदै  आपूर्ति मन्त्री पुनले सो कुरा बताएका हुन् । 

पुनले सरकारले आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा यो व्यवस्थित र वैज्ञानिक भएर जाने दाबी गरे । उनले आपूर्ति नीति २०६९ कार्यान्वयनका लागि गृहकार्य भइरहेको र इन्धनलगायतका अति आवश्यकीय बस्तुको भण्डारलाई प्रभावकारी बनाउन समेत सरकार लागिपरेको बताए । 

मन्त्री पुनले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै बजार अनुगमनको कार्यलाई सरकार, निजी क्षेत्र र उपभोक्ता बीचको समन्वयबाट प्रभावकारी बनाउन आफू क्रियाशील भएको समेत दाबी गरे । 

अन्तरक्रियामा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आपूर्ति कार्यलाई प्रभावकारी बनाउन सरकारले पर्याप्त मात्रमा ध्यान पु¥याउनु पर्ने बताउँदै महाभूकम्प र नाकाबन्दीले आपूर्ति कार्य अस्तव्यस्त भएको बताए । इन्धनलगायत अति आवश्यकीय बस्तुहरुको आपूर्ति व्यवस्थामा देखिएका समस्या र समाधानका विषयमा सरोकारवालाबीच अन्तरक्रिया गराई ठोस निश्कर्ष निकाल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउंदै चेम्बरले यसअघि नै सरकार लगायत सरोकारवालाई दिदैं आएको सुझाव कार्यान्वयन भए मात्र पनि आपूर्ति व्यवस्था सहज हुन मद्धत पुग्ने विश्वास व्यक्त गरे । 

श्रेष्ठले आपूर्ति नीति २०६९ कार्यान्वयन गर्न आपूर्ति मन्त्रालयले विशेष चासो दिनुपर्ने बताउंदै आर्थिक ऐनहरु पारित हुन नसक्नु नै विद्यमान समस्याको मुख्य जड रहेको बताए । 

आपूर्ति सचिव श्रीधर सापकोटाले यस अघि आपूर्ति कार्य सरकारको प्राथमिकतामा नपरेकै कारण आवश्यक नीतिनियम बन्न नसकेको बताउंदै आपूर्ति कार्यलाई प्रभावकारी बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । 

नेपाल आयल निगमका महाप्रबन्धक गोपालबहादुर खड्काले मागअनुसार इन्धनको आपूर्ति भइरहेको बताउंदै सञ्चय गर्ने प्रवृत्तिले बजारमा अझै इन्धनको आपूर्तिमा समस्या रहेको दाबी गरे । उनले आयल निगमको भण्डार क्षमतालाई अभिवृद्धि गर्नुपर्ने बताउंदै सरल तथा सहज आपूर्तिको लागि भारतको पारादिपबाट इन्धन आयात गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।