काठमाण्डौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकटका २० सांसदको राजीनामा आउने बचन दिंदै सरकार गठनको तयारी थाल्न कांग्रेस र माओवादीका शीर्ष नेतालाई सुझाव दिएका छन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सुरु भएको विपक्षी गठबन्धनको बैठकमा सहभागी नेता नेपालले यस्तो वचन दिएका कांग्रेसका एक नेताले दाबी गरे । 

ती नेताका अनुसार माधव नेपालले आफू निकटका २० सांसदको राजीनामा २ बजेअघि नै आउने भन्दै ओलीको विकल्पमा सरकार गठनको तयारी थाल्न भनेका हुन् । नेपालको यो सुझावपछि विपक्षी गठबन्धन उत्साहित भएर छलफलमा जुटेको समेत ती नेताले दाबी गरेका छन् । 

नेता नेपाल निकटका २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएको खण्डमा जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले साथ नै नदिए पनि विपक्षीहरुको बहुमत पुग्ने देखिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ४ लाई छल्दै उपधारा ५ अनुसारको सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसीमा दिएकी छिन् । यो समयसीमाभित्र संसदको बहुमत सदस्यको समर्थनसहित कुनै पनि संसद सदस्यले आधार प्रस्तुत गरेमा उसलाई राष्ट्रपतिले प्रधानमन्त्री बनाउनसक्ने संवैधानिक प्रावधान छ । यही प्रावधानअनुसार विपक्षी गठबन्धनले वैकल्पिक सरकार गठनको गृहकार्य गरिरहेका छन् । 

कांग्रेस, माओवादी र एमालेको नेपाल पक्ष राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउने सहमति समेत गर्दैछन् ।